आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै

काठमाण्डौ : ‘दीर्घायुको युग:दीर्घ जीवनका लागि जीवन पद्धतिमा पुनर्विचार गरौँ’ भन्ने मूल नाराका साथ आज ३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

राष्ट्रसङ्घ महासभाले सन् १९९० डिसेम्बर १४ मा अक्टोबर १ लाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा घोषणा गरेपछि सन् १९९१ देखि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो ।

आज स्थानीय र विश्वव्यापी नेतृत्व गरेका वृद्ध व्यक्तिहरूको योगदानको चर्चा गरिन्छ। वृद्धवृद्धाहरूको आकांक्षा, उनीहरूको सुरक्षा र अधिकारका विषयमा छलफल हुन्छन् । ज्येष्ठ नागरिकको क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाले ज्येष्ठ नागरिकको हक, हित, संरक्षण र संवर्द्धनका लागि विभिन्न कार्यक्रम आयोजना गरेर यो दिवस मनाउँदैछन् ।

दिवसका अवसरमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले शुभकामना सन्देश दिंदै ज्येष्ठ नागरिक ज्ञान, अनुभव, सीप र संस्कारका महत्वपूर्ण स्रोत भएकाले उहाँहरूको सम्मान, हेरचाह र अधिकार सुनिश्चित गर्नु सबैको साझा दायित्व भएको बताए ।

बदलिँदो पारिवारिक संरचना र आधुनिक जीवनशैलीका कारण ज्येष्ठ नागरिकमा स्वास्थ्य, सामाजिक सुरक्षा र एक्लोपनाका चुनौती बढ्दै गएको भन्दै मन्त्रालयले उहाँहरूको मर्यादित र सुरक्षित जीवनका लागि काम गर्ने जनाएको छ ।

ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवनका लागि यो दिवस मनाउन थालिएको हो । युव उमेरमा विभिन्न क्षेत्रमा क्रियाशील रही आफ्नो ज्ञान, सीप र अनुभवलाई प्रयोग गरेर समाज सुधारमा रहने र ज्येष्ठ नागरिक भएपछि सामाजिक रुपमा बहिस्कृत हुन सक्ने भएकाले त्यसो हुन नदिन यस्ता दिवसले भूमिका खेल्ने विश्वास गरिन्छ ।

ज्येष्ठ नागरिकहरूले जीवनभर संगालेका ज्ञान, सिप र अनुभवलाई नयाँ पुस्तामा पुस्तान्तरढण गर्न सहज होस् भन्ने उद्देश्य पनि राखिन्छ । नेपालको संविधानले ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक सुनिश्चित गरेको छ । उनीहरूलाई न्यूनतम आधारभुत आवश्यकता पुर्तिका लागि सहयोग होस् भनेर मासिक चार हजार भत्ता समेत दिने गरिएको छ ।

यस्तै, असोज १० गतेको बाढी तथा पहिरोमा ज्यान गुमाएका ज्येष्ठ नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते तथा प्रभावितको उद्धार, राहत र पुनःस्थापनामा निरन्तर काम गर्ने प्रतिबद्धता मन्त्रालयले जनाएको छ ।

Loading...