चौमाला : कैलालीको गौरीगङ्गा नगरपालिका –६ मोयास्थित भैरव आधारभूत विद्यालयमा जातीय विभेद तथा छुवाछुत गरेको आरोपमा तीन जना शिक्षक पक्राउ परेका छन् ।
दलित समुदायका विद्यार्थी तथा अभिभावकले दिएको उजुरीका आधारमा शिक्षक भगवती बडैला, भगवती रेग्मी र टेकराज उपाध्याय पक्राउ परेका हुन् ।पक्राउ परेका तीनै जना शिक्षकलाई इलाका प्रहरी कार्यालय मालाखेतीमा राखेर घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) हिरासिंह महराले जानकारी दिए ।
उनीहरुमाथी विद्यालयमा दलित समुदायका विद्यार्थी तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षिका र कार्यालय सहयोगीमाथि जातीय आधारमा विभेदपूर्ण व्यवहार भएको आरोप लगाइएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्रबहादुर विक, शिक्षिका बिना विक, कार्यालय सहयोगी लक्ष्मीदेवी दमाई तथा दलित विद्यार्थीमाथि जातीय विभेद गरिएको बिद्यालय समितिका सदस्य कैलाश आउजीले बताए ।
घटनाबारे जानकारी सार्वजनिक भएपछि स्थानीयवासी, विद्यार्थीका अभिभावक तथा विभिन्न सरोकारवालाले विद्यालयमा भएको जातीय विभेदको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका थिए । नेपालको संविधानले जातीय भेदभाव तथा छुवाछुतलाई निषेध गरेको छ ।