धनगढी : सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा मेडिकल अधिकृतदेखि सर्जन तथा प्राविधिक कर्मचारीसम्मको भर्ना प्रक्रिया विवादमा परेको छ । परीक्षा नै नलिई ५४४ जनालाई सर्टलिस्ट गरी नतिजा सार्वजनिक गरिएको भन्दै छनोट प्रक्रियाको पारदर्शिता र निष्पक्षतामाथि प्रश्न उठेको हो ।
विश्वविद्यालयले १४१ पदका लागि आवेदन आह्वान गरेकोमा १ हजार ६ सयभन्दा बढीले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये ५४४ जनालाई सर्टलिस्ट गरिएको छ । तर, सर्टलिस्टमा उम्मेदवार छनोट गर्ने आधारबारे विश्वविद्यालयले स्पष्ट जानकारी नदिएको भन्दै आवेदकहरूले प्रश्न उठाएका छन् ।
विशेषगरी मेडिकल अधिकृत, सर्जन, स्वास्थ्य शिक्षक तथा प्राविधिक जनशक्तिजस्ता संवेदनशील पदमा उम्मेदवारको योग्यता, अनुभव र दक्षता कसरी मूल्याङ्कन गरियो भन्ने विषयमा स्पष्टता आवश्यक देखिएको छ ।
आवेदन शुल्क तिरेर प्रतिस्पर्धामा सहभागी भएका कतिपय उम्मेदवारले परीक्षा दिनसमेत नपाएको गुनासो गरेका छन् । उनीहरूले सर्टलिस्ट तयार पार्ने आधार, मूल्याङ्कनको मापदण्ड र बाँकी उम्मेदवार छनोटमा नपर्नुको कारण सार्वजनिक गर्न माग गरेका छन् ।
हिमान्सु शाहका अनुसार दुईजना दर्ता नै नभएको सर्टलिष्टमा राखिएको छ । उनले सर्टलिस्टमा उम्मेदवार छनोट गर्ने आधार, प्रक्रियाबारे प्रश्न उठाउदै विश्वविद्यालयले स्पष्ट जानकारी दिनुपर्ने बताए । योग्यता कि पहुँचका आधारमा छनोट गरिएको हो ? उनको प्रश्न छ ।
छनोटमा पहुँच वा अन्य प्रभाव परेको आशङ्का व्यक्त भए पनि त्यसको स्वतन्त्र पुष्टि भइसकेको छैन । त्यसैले भर्ना प्रक्रिया नियमसम्मत भए-नभएको निष्पक्ष रूपमा छानबिन गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने देखिएको छ ।
स्वास्थ्य विज्ञान विश्वविद्यालयजस्तो संवेदनशील संस्थामा कर्मचारी छनोट गर्दा स्पष्ट मापदण्ड, पारदर्शी प्रक्रिया र निष्पक्ष प्रतिस्पर्धा सुनिश्चित गर्नुपर्ने भएकाले विश्वविद्यालय प्रशासनले ५४४ जना सर्टलिस्ट गर्नुको आधार र अपनाइएको छनोट प्रक्रियाबारे स्पष्ट जवाफ दिनुपर्ने देखिन्छ ।