अत्तरिया : दशैं-तिहारलाई लक्षित गर्दै सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका ३४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका सूचना अधिकारी प्रहरी निरीक्षक मनिराम भट्टका अनुसार कैलालीमा ७, कञ्चनपुरमा ५, डडेल्धुरामा ३, डोटीमा २, दार्चुलामा ३, अछाममा २, बझाङमा २, बैतडीमा ६ र बाजुरामा ४ स्थानमा सहायता कक्ष स्थापना गरिएको हो ।
चाडपर्वका बेला यात्रु तथा सर्वसाधारणलाई आवश्यक जानकारी उपलब्ध गराउने, गन्तव्यसम्म पुग्न सहजीकरण गर्ने तथा यात्राका क्रममा आइपर्ने समस्या र गुनासोको सुनुवाइ गर्ने उद्देश्यले सहायता कक्ष सञ्चालनमा ल्याइएको प्रहरी निरीक्षक भट्टले बताए ।
उनका अनुसार आकस्मिक अवस्थामा तत्काल प्रहरी सहायता उपलब्ध गराउनुका साथै सार्वजनिक स्थानमा हुन सक्ने चोरी, ठगी, झैझगडा तथा अन्य आपराधिक गतिविधि नियन्त्रणमा समेत सहायता कक्षबाट समन्वय र सहजीकरण गरिनेछ ।
चाडपर्वका समयमा हुने सवारी चाप र यात्रुको भीडलाई मध्यनजर गर्दै क्षमताभन्दा बढी यात्रु बोक्ने, चर्को भाडा असुल्ने लगायतका गतिविधि नियन्त्रणमा समेत यात्रु सहायता कक्ष प्रभावकारी हुने प्रहरीले जनाएको छ ।
यात्रु सहायता कक्ष स्थापना गर्ने क्रम जारी रहेकाले अझै ३४ भन्दा बढी हुनसक्ने प्रहरी निरीक्षक भट्टले जानकारी दिएका छन् ।