डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिका–५, परिगाउँमा ‘परिगाउँ प्राइड लिग सिजन–१’ औपचारिक रूपमा सुरु भएको छ। परशुराम आदर्श युवा क्लबको आयोजनामा भुवनेश्वरी नमुना माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन भइरहेको प्रतियोगिताको उद्घाटन बुधबार एक औपचारिक समारोहबीच गरिएको हो।
परशुराम नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष दिलबहादुर शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोहमा आयोजक परशुराम आदर्श युवा क्लबका अध्यक्ष दीपकराज जोशीको सभापतित्व रहेको थियो। कार्यक्रममा परशुराम नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष विश्राम बोहरा र वडा नम्बर ६ का वडाध्यक्ष खगेन्द्र सिंह विशिष्ट अतिथिका रूपमा सहभागी थिए। यस्तै, परिगाउँस्थित सशस्त्र प्रहरी बलको बीओपीका प्रमुख तथा प्रहरी चौकी शीर्षका प्रमुखलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा स्थानीय ज्येष्ठ नागरिक जबरसिंह कार्की, मनवीर भट्टराई, राजमती देवी शाही र गोपाल दानीलाई सम्मान गरिएको थियो। स्थानीय ज्येष्ठ नागरिकप्रति सम्मान व्यक्त गर्दै नयाँ पुस्तामा सामाजिक सद्भाव, आपसी एकता र सम्मानको भावना अभिवृद्धि गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको हो।
उद्घाटन समारोहमा खेल संयोजक उमेश शाही ठकुरीले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा मिनबहादुर चन्द, खगेन्द्र सिंह, वीरेन्द्र भट्टराई र दिलबहादुर शाहीले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरेका थिए। प्रतियोगिताको पहिलो दिन तीन खेल सम्पन्न भएका छन्।
पहिलो खेलमा परशुराम आदर्श युवा क्लब ‘ए’ टिम र भागेश्वर युवा क्लबबीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा आयोजक परशुराम आदर्श युवा क्लब ‘ए’ टिम विजयी भयो। खेलमा उत्कृष्ट प्रदर्शन गरेका आयोजक टोलीका दानबहादुर साउद ‘म्यान अफ द म्याच’ घोषित भए।
दोस्रो खेलमा परशुराम आदर्श युवा क्लब ‘बी’ टिम र वडा नम्बर १२ को कार्यालयको टोलीबीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा परशुराम आदर्श युवा क्लब ‘बी’ टिम विजयी भयो। आयोजक टोलीका हेमन्त बोहरा खेलको उत्कृष्ट खेलाडी घोषित हुँदै ‘म्यान अफ द म्याच’ बने।
त्यसैगरी, तेस्रो खेलमा परिगाउँ शिवालय विकास समिति र परशुराम नगरपालिका वडा नम्बर ६ को कार्यालय, तातापानीको ‘बी’ टिमबीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा तातापानीको ‘बी’ टिम विजयी भयो। विजयी टोलीका शुभम सिंह ‘म्यान अफ द म्याच’ घोषित भए।
प्रतियोगिताको पहिलो दिनमै आयोजक क्लबका ‘ए’ र ‘बी’ दुवै टोलीले जित निकाल्नुका साथै तेस्रो खेलमा वडा नम्बर ६ को कार्यालय, तातापानीको ‘बी’ टोलीले पनि सफलता हासिल गरेको छ। स्थानीय स्तरमा खेलकुदको विकास, युवाको प्रतिभा पहिचान तथा खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विभिन्न क्षेत्रका १४ टोलीको सहभागिता रहेको छ।
आयोजकका अनुसार प्रतियोगिता असोज २८ गतेदेखि कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ। खेल संयोजक उमेश शाही ठकुरीले प्रतियोगिताले स्थानीय खेलाडीको क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै युवालाई खेलकुदप्रति आकर्षित गर्न र समुदायबीच आपसी सम्बन्ध सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
स्थानीय स्तरमा खेलकुद गतिविधिलाई प्रोत्साहन गर्दै नयाँ प्रतिभालाई अघि बढाउने लक्ष्यसहित सुरु भएको ‘परिगाउँ प्राइड लिग सिजन–१’ ले परिगाउँ क्षेत्रको खेलकुद विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।