अत्तरिया : गोदावरी नगरपालिका-६ लापुरमा मंगलबार सम्पन्न यु-१८ नवीन मेमोरियल कप फुटबल प्रतियोगिताको उपाधि आयोजक टोली टिम नवीनले जितेको छ ।
फाइनलमा जीएसएम र टिम नवीनबीचको प्रतिस्पर्धा निर्धारित समयमा गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टीमा टिम नवीनले जीएसएमलाई ३-२ गोलले पराजित गर्दै उपाधि जितेको हो ।
उपाधिसँगै टिम नवीनले नगद ४० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता जीएसएमले नगद २० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र पाएको छ ।
यहि असोज २३ गतेदेखि सुरु भएको प्रतियोगितामा दिपेश महरा सर्वोत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै, किरण कार्की उत्कृष्ट डिफेन्डर र जेनिस बोगटी उत्कृष्ट गोलकिपर बने। सर्वोत्कृष्ट खेलाडी महराले नगद ३ हजार रुपैयाँ तथा उत्कृष्ट डिफेन्डर र गोलकिपरले जनही १ हजार ५०० रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगिताका प्रमुख अतिथि गोकर्ण भट्टले विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार वितरण गरेका थिए ।