अत्तरिया : सुदूरपश्चिम प्रदेशसभाबाट चालु आर्थिक वर्ष २०८३/०८४ को बजेट पारित भएको छ ।
विवाद चर्किएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बहिष्कारबीच मंगलबार साँझ बसेको प्रदेशसभा बैठकले बहुमतको आधारमा बजेट पारित गरेको हो ।
मंगलबार बसेको नेकपाको संसदीय दलको बैठकले प्रदेशसभामा प्रस्तुत बजेट पारित गर्ने र बजेटमा छुटेका विषय तथा विवादित योजनालाई सम्बोधन गर्न पूरक बजेट ल्याउने निर्णय गरेको थियो ।
यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेट जनपक्षीय नभएको भन्दै प्रदेशसभा बैठक बहिस्कार गरेको छ ।
यसैबीच, बजेट विवाद समाधान गर्न सत्तारूढ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र बजेट संशोधन तथा छानबिन गर्ने सहमति भएको छ । नेकपाले संसदीय छानबिन समिति गठन गर्ने र कात्तिक १५ गतेभित्र पूरक बजेट ल्याउने सहमति गरेको हो ।
आइतबार आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा ३७ अर्ब ७० करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए ।