परशुराम धामका ऐतिहासिक चुनढुङ्गा संकटमा : संरक्षणमा सरकारको बेवास्ता

श्याम बोहरा (सन्जु)/परशुराम : डडेल्धुराको परशुराम नगरपालिका-५, परिगाउँस्थित ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल परशुराम धाममा रहेका चुनढुङ्गाको अस्तित्व संकटमा पर्दै गएको छ । महाकाली नदीको किनारमा रहेका ऐतिहासिक चुनढुङ्गा नदीको बहाव र कटानका कारण जोखिममा परे पनि तिनको संरक्षणका लागि सम्बन्धित निकायले आवश्यक पहल नगरेको भन्दै स्थानीयले चिन्ता र आक्रोश व्यक्त गरेका छन् ।

धार्मिक तथा ऐतिहासिक महत्व बोकेका यी चुनढुङ्गाको संरक्षणमा स्थानीय तहदेखि प्रदेश र संघ सरकारसम्मले बेवास्ता गरेको स्थानीय भरत धानुक पुकारले बताए । वर्षौंदेखि संरक्षणको माग गर्दै आए पनि सुनुवाइ नभएको उनको गुनासो छ ।

स्थानीय जनविश्वासअनुसार भगवान् परशुरामले हवन गर्दा तिल र जौको खरानीबाट यी चुनढुङ्गाको उत्पत्ति भएको मानिन्छ । यही धार्मिक विश्वास र ऐतिहासिक महत्वका कारण पनि परशुराम धाममा रहेका चुनढुङ्गा क्षेत्रको महत्वपूर्ण सम्पदाका रूपमा लिइन्छन् । स्थानीय धानुकका अनुसार पछिल्ला ६/७ वर्षदेखि महाकाली नदि चुनढुङ्गा भएको ठाउँदेखी केही पर गएको हुदा तटबन्धका लागि सहज हुने भएको छ ।

विशेषगरी वर्षायाममा महाकाली नदीको बहाव बढ्दा चुनढुङ्गा क्रमशः दबिँदै जाने र नदीको कटानका कारण तिनको अस्तित्व नै मेटिने जोखिम बढेको छ । नदीको बहावसँगै आफ्नो मौलिक स्थानबाट विस्थापित हुन सक्ने स्थानीयको चिन्ता छ । यसले परशुराम धामको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्वमा समेत असर पार्न सक्ने स्थानीय लक्ष्मण बिष्टको भनाइ छ ।

संरक्षणका लागि स्थानियद्धारा सम्बन्धित निकायको ध्यानाकर्षण
स्थानीय शमसेर बिष्टकाअनुसार महाकाली नदीको कटानबाट चुनढुङ्गा जोगाउन आवश्यक स्थानमा तटबन्ध निर्माण गर्न सके संरक्षणमा ठूलो सहयोग पुग्न सक्छ । तर, आवश्यक बजेट विनियोजन नहुँदा तटबन्ध निर्माणको काम अघि बढ्न नसकेको उनको गुनासो छ ।

चुनढुङ्गाको संरक्षणका लागि पटक-पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि ठोस पहल नभएको बिष्टले बताए । वडा कार्यालय, नगरपालिका, प्रदेश सरकार र संघीय सरकारसमक्ष समस्या पु¥याउँदा समेत आवश्यक सुनुवाइ नभएको उनी बताउँछन् ।

स्थानीयले प्रदेश सरकारमा ज्ञापनपत्र बुझाएर संरक्षणका लागि आग्रह गर्दा पनि बजेट विनियोजन हुन नसकेको गुनासो गरेका छन् । आफ्नै जिल्लाबाट प्रदेश सरकारको नेतृत्वमा प्रतिनिधित्व हुँदा समेत ऐतिहासिक सम्पदाको संरक्षणका लागि आवश्यक बजेट नछुट्याइनु दुःखद भएको शमसेर बिष्टको भनाई छ ।

संरक्षणमा ढिलाइ भए ऐतिहासिक सम्पदा गुम्ने खतरा
परशुराम धाम धार्मिक आस्था र पर्यटनको सम्भावना बोकेको क्षेत्र भए पनि त्यहाँका ऐतिहासिक संरचना तथा प्राकृतिक सम्पदाको संरक्षणमा पर्याप्त ध्यान पुग्न नसकेको स्थानीय स्थानीय मदन धामि (कुशल)को गुनासो छ ।

समयमै संरक्षणका लागि योजना बनाएर बजेट विनियोजन नगरे चुनढुङ्गाको मौलिक अस्तित्व नै समाप्त हुन सक्ने उनले बताए । धामिकाअनुसार महाकाली नदीको बहाव र कटान नियन्त्रणका लागि आवश्यक प्राविधिक अध्ययन गरी तटबन्ध निर्माण, जोखिमयुक्त क्षेत्रको संरक्षण तथा दीर्घकालीन योजना कार्यान्वयन गर्न जरुरी छ ।

ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेका चुनढुङ्गा संरक्षण गर्नु स्थानीय सरकारको मात्र नभई प्रदेश र संघ सरकारको समेत जिम्मेवारी भएको स्थानीयको भनाई छ । उनीहरूले सम्बन्धित निकायलाई तत्काल स्थलगत अनुगमन गरी आवश्यक बजेट विनियोजन गर्न र संरक्षणका काम अघि बढाउन माग गरेका छन् । समयमै ध्यान नदिइए परशुराम धामको पहिचानसँग जोडिएको यो ऐतिहासिक सम्पदा सधैँका लागि गुम्न सक्ने जोखिम छ । त्यसैले आश्वासनमा सीमित नभई संरक्षणका लागि ठोस योजना, पर्याप्त बजेट र प्रभावकारी कार्यान्वयन आवश्यक देखिएको छ ।

Loading...