कैलालीमा छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु

अत्तरिया : कैलालीमा छुट्टाछुट्टै तीन स्थानमा भएका मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका, कैलारी गाउँपालिका र टीकापुरमा भएका दुर्घटनामा तीन जनाले ज्यान गुमाएका हुन् ।

घोडाघोडी नगरपालिका-५ स्थित डोडा पुल नजिकै सोमबार साँझ गोरुगाडा र मोटरसाइकल आपसमा ठोक्किँदा धनगढी उपमहानगरपालिका-१७ का २९ वर्षीय विक्रम रानाको मृत्यु भएको छ ।

गोरुगाडासँग रानाले चलाएको से ८८ प ५१५६ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । दुर्घटनामा घाइते रानालाई उपचारका लागि धनगढी रेफर गरिएकोमा राति नै मृत्यु भएकाे हाे ।

त्यस्तै, कैलारी गाउँपालिका-७ रामपुरस्थित हुलाकी राजमार्गमा साेमबार राति मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा भजनी नगरपालिका-९ का २६ वर्षीय शिवलाल चौधरीको मृत्यु भएको छ । ३० वर्षीय सञ्जय चौधरीले चलाएको नम्बर नखुलेको मोटरसाइकल पछाडि सवार शिवलाल दुर्घटनामा घाइते भएका थिए । घोडाघोडी अस्पताल सुखडमा उपचारपछि थप उपचारका लागि भारत लैजाने क्रममा उनको मृत्यु भएको जनाइएको छ ।

यस्तै, टीकापुरमा साेमबार राति नै से ४ प ६५७९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री ५३ वर्षीय लक्ष्मीराम थारूको मृत्यु भएको छ । १९ वर्षीय आयुष चौधरीले चलाएको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका थारूलाई उपचारका लागि टीकापुर अस्पताल पुर्‍याइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक थारूको शव परीक्षणका लागि अस्पतालमै राखिएको छ ।

Loading...