गोदावरी नगरपालिकाले सुरु गर्यो पुनः श्रम स्विकृतिको काम

अत्तरिया : सुदूरपश्चिमका मात्रै नभई देशकै बढी जसो युवावर्ग विदेशमा छ । केही समयको विदा मिलाएर स्वदेश फर्किने र पुनः काममै फर्किने गरी युवाहरु विदेशीएका छन ।

बाहिरी देशहरुमा काम गर्न जाने युवाहरुले बाह्य देशहरुमा काम गर्नका लागि श्रम स्वीकृति लिनुपर्ने हुन्छ । त्यसका लागि देशका जुनसुकै स्थानका युवाहरुले पनि संघीय राजधानी काठमाण्डौ जानुपर्ने अवस्था विगतमा थियो ।

तर पछिल्लो समय विभिन्न जिल्ला तथा पालिकाहरुले आफ्नै स्थानबाट युवाहरुका लागि श्रम स्विकृति र पुनः श्रम स्विकृतीको कार्य गर्दै आएका छन । कैलालीको गोदावरी नगरपालिकाले पनि नगरबाटै पुनः श्रम स्विकृतिको कार्य थालनी गरेको छ ।

नगरपालिकाको रोजगार सेवा केन्द्रद्वारा वैदेशिक रोजगारीको शिलशिलामा जान चाहने तथा फर्किएर पुनः जान ईच्छुक व्यक्तिहरुलाई श्रम स्विकृति प्रदान गर्न थालिएको हो ।

नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले मंगलबार एक जना युवालाई पुनः श्रम स्विकृतिको प्रमाणपत्र वितरण गर्दै कार्यको थालनी गरेका थिए । नगरपालिकाको वडा नं. ६ भुयरा स्थायी बसोबास भई विगत १३ वर्षदेखी युएई स्थित एसएचजे इन्भायरमेन्ट कम्पनिमा मेसिन अपरेटरका रुपमा कार्यरत महानन्द जोशीलाई पुनः श्रम स्विकृतिको प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रमाणपत्र प्रदान गर्दै उनले युवाहरुले वैदेशीक रोजगारीमा जान चाहने युवाहरुको सहजताका लागि उक्त कार्यको थालनी गरिएको बताए ।

उनले विगतमा काठमाण्डौ तथा धनगढी गएर गर्नुपर्ने कार्य नगरमै सञ्चालन गरिएको बताए । पालिका भित्रका जनताहरुले आन्तरिक तथा वैदेशिक रोजगारीका लागि आवश्यक जानकारी, सूचना, परामर्श लगाएतका सेवा सुविधाहरु पालिकाबाटै प्रदान गर्ने कार्य सुरु भैसकेकाले सम्पुर्ण सेवाग्राहीहरुलाई फाइदा लिन हुन नगरप्रमुख भट्टले आग्रह गरे ।

उनले नगरपालिका सदैव नगरबासीहरुलाई सहजता हुने र हित हुने कार्यका लागि अग्रसर रहेको समेत बताए । नगरपालिकाले नै पुनः श्रम स्विकृती प्रदान गर्न थालेपछि नगरबासीहरुलाई सहजता हुने भएको छ । यसअघि धनगढी स्थित श्रम कार्यालयबाट श्रम स्विकृतीको काम हुदै आएको थियो ।

जिल्लाका सबै पालिकाहरुका युवाहरुले श्रम कार्यालयबाटै पुनः श्रम स्विकृतिको काम गर्दा भिडभाड बढी हुने भएकाले कार्यमा ढिलाई हुने तथा नगरका युवाहरुलाई समस्या समेत हुने गरेकोमा अब भने त्यो समस्या हटेको नगरप्रमुख भट्टले बताए । प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिदत्त भट्टले नगरपालिकाले आन्तरिक तथा वैदेशीक रोजगारी सम्बन्धी सेवा निरन्तर रुपमा प्रदान गर्दै आईरहेको बताए ।

नगरको प्रदान गर्दै आईरहेको उक्त सेवा अझै पनि नगरबासी सामु पुग्न नसकेको भन्दै उनले सो को जानकारी समुदायस्तरमा अझै बढाईने बताए । उनले नागरिकलाई आवश्यक पर्ने सुचना र समन्वयका लागि अग्रसर रहेको बताउदै सम्बन्धीत पक्षसँग समन्वयका लागि पनि पालिका तयार रहेको बताए ।

रोजगार सेवा केन्द्र मार्फत पुनः श्रम स्विकृती प्रदान गर्न सकिएको भन्दै नगरपालिकाका रोजगार संयोजक रोहित प्रसाद जोशीले खुशी व्यक्त गरे । उनले आगामी दिनमा आन्तरिक तथा वैदेशिक रोजगारी सम्बन्धी सूचना, परामर्श, वैदेशिक रोजगार बोर्डको सचिवालयबाट प्रदान गरिने बिरामी/अंगभंग/राहत/उद्दार लगाएतका कल्याणकारी सेवा, व्यक्तिगत तथा पुनः श्रम स्विकृति लगाएतका सेवाहरु रोजगार सेवा केन्द्रबाट प्रभावकारी रुपमा सञ्चालन हुने समेत जानकारी दिए ।

नेपालमा बैदेशिक रोजगार विभागले श्रम स्विकृति वा पुनः श्रम स्विकृतिको कार्य गर्दै आएको छ । सुरुवाती चरणमा सोही कार्यालयमा गएर श्रम स्विकृत गराउनुपर्ने बाध्यता अब भने हटेको छ ।

पछिल्लो समय विभिन्न प्रादेशिक श्रम कार्यालयहरु मार्फत श्रम स्विकृतिको कार्य हुदै आएको छ ।

Loading...