अत्तरियाका होटलमा अनुगमन तथा चेकजाँच : ६ जना पक्राउ,३० होटल कार्वाहीमा 

अत्तरिया : कैलालीको अत्तरियाका बिभिन्न होटलहरुमा आज (आईतबार) अनुगमन तथा चेकजाँच गरिएको छ । आईतबार गोदावरी नगरपालिका वडा नंबर २ अत्तरिया बजार गल्लीमा सञ्चालनमा रहेका होटलहरुमा अनुगमन तथा चेकजाँच गरिएको हो।

वडा नम्बर २ का जनप्रतिनिधि,कर्मचारी, गोदावरी होटल व्यवसायी संघ र ईलाका प्रहरी कार्यालय मालाखेती अत्तरियाका डिएसपी सहितको प्रहरीको संयुक्त टोलीले बिभिन्न ४० वटा होटलहरुमा अनुगमन गरेको ईप्रकाका डिएसपी गणेश वरालले जानकारी दिए । उनका अनुसार अत्तरिया स्थित १ नम्बर गल्ली, २ नम्बर गल्ली (आदर्श गल्लि), बाणिज्य बैंक गल्लि, नमस्ते गल्ली र रिङरोडमा सञ्चालित रहेका होटेलहरुमा अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा स्थाई लेखा नम्बर दर्ता र नविकरण, वडा कार्यालयमा गरिएको दर्ता, होटलको नाम सहितको बोर्ड, ग्राहकहरु ईन्ट्री किताब र अनैतिक क्रियाकलाप भए नभएको बिषयहरुमा पनि अनुगमन तथा चेकजाँच गरिएको थियो । १५ वटा होटल सञ्चालकहरुले स्थायी लेखा नम्बर तथा दर्ता बिना सञ्चालन गरेका छन भने १५ वटा होटलहरु नविकरण तथा वडामा दर्ता नभएका पाईएको बताईएको छ ।

यस्तै अनुगमनका क्रममा होटलमा अनैतिक क्रियाकलापमा संलग्न होटल संचालकसहित ६ जना पक्राउ परेका छन् । अत्तरियाका गल्लीमा सञ्चालित विभिन्न होटलहरुबाट प्रहरीले ३ जना महिला र ३ जना पुरुष लाई पक्राउ गरेको डिएसपी बरालले बताए । पक्राउ परेकाहरुलाई अनुसन्धानका लगि हिरासतमा राखिएको उनले बताएका छन् ।

Loading...