कैलालीमा चिसो बढेपछी आगो ताप्दै अत्तरियाका स्थानीय (फोटोफिचर)

अत्तरिया : कैलालीमा बुधबारदेखी चिसो बढेको छ । शीतलहर र बाक्लो हुस्सुका कारण चिसो बढेको हो । बिहानैदेखि शीतलहरसंगै चिसो बतास चलिरहेको छ । हुस्सुका कारण अत्तरिया लगायतका क्षेत्रमा घाम लाग्न सकेको छैन ।

घाम नलाग्दा तापक्रम घट्दै गएको छ भने जनजीवन प्रभावित बनेको छ । चिसोबाट जोगिनका लागि मान्छे सडक छेउछाउ, घर लगायत विभिन्न ठाउँमा आगो ताप्न थालेका छन् ।

चिसो बढेपछि बलाबालिका र बृद्धबृद्धालाई समस्या भएको छ । अन्य बर्ष भन्दा यो बर्ष पुस ११ गते सम्म तराईमा बिहानै घाम लाग्थ्यो तर बुधबारबाट भने शीतलहर र बाक्लो हुस्सु लाग्न थालेको छ । जाडोले मान्छेको दैनिकीमा पनि असर पर्न थालेको छ ।

एक्कासी जाडो बढेपछि मजदुर, किसान वर्गलाई समस्या भएको छ । चिसोले गर्दा विभिन्न स्वास्थ्य समस्या हुन सक्ने भएकाले चिसोबाट जोगिनु पर्ने स्वास्थ्यकर्मीको सुझाव छ । चिसोका कारण खास गरेर निमोनिया, विभिन्न भाइरल रोग लाग्न सक्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

चिसोबाट जोगिनका लागि न्यानो कपडा लगाउनु पर्ने, तातो र तातो झोलिलो खानेकुराहरु खानुपर्ने, बालबालिका र बृद्धबृद्धालाई बिषेश हेरचाह गर्नुपर्ने जस्ता उपाय अपनाउन स्वास्थ्यकर्मीको सुझाव छ ।

Loading...