आर्थिक अनियमितता प्रकरणमा पक्राउ परेका भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई थप चारदिन ईडी अर्थात प्रवर्तन निर्देशनालयको हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
उनी अब अप्रिल १ सम्म हिरासतमा रहनेछन् । यसअघि दिइएको ६ दिनको समय सीमा सकिएपछि ईडीले हिजो केजरिवालमाथि अनुसन्धान गर्न थप सात दिनको समय माग गरेका थियो । तर अदालतले चारदिन मात्रै समय थप गरेको छ ।
ईडीले केजरीवाललाई सोधपुछपछि एक अप्ताअघिको बिहीवार निवासबाटै पक्राउ गरेको थियो । त्यसपछि उनलाई गएको शुक्रवार अदालतमा पेस गरिएको थियो ।
यस्तै जेलमा रहेकाले केजरीवाललाई मुख्यमन्त्री पदबाट मुक्त गर्नुपर्ने मागसहित परेको निवेदनलाई भने अदालतले खारेज गरेको छ । अदालतले मुख्यमन्त्री पदबाट मुक्त गर्नुपर्ने नियम र कानुन नरहेको भन्दै त्यसमा न्यायीक हस्तक्षेपको कुनै ठाउँ नभएको बताएको छ ।
