धनगढीको ६ लेन सडकमै छुट्टै ‘साइकल लेन’ बन्ने

अत्तरिया : अब धनगढीको ६ लेन सडकमै छुट्टै ‘साइकल लेन’ बन्ने भएको छ। मोहनापुल–अत्तरिया ६ लेन सडक अन्तर्गत धनगढी उपमहानगर क्षेत्रभित्र छुट्टै साइकल लेन बन्ने भएको हो।

यसका लागि उपमहानगरले आवश्यक तयारी अघि बढाइसकेको छ। उपमहानगरको भैपरी आउने पुँजीगत शिर्षकबाट बजेटको रकमान्तर गरेर आधुनिक र सुविधासम्पन्न साइकल लेन बनाउन ४६ लाख ५० हजार बजेटको व्यवस्था गरिएको छ। यसका लागि स्टिमेट स्वीकृत गरेर बोलपत्र आह्वान गरिएको छ।

उक्त टेण्डर २ गते खुल्ने उपमहानगरपालिकाका डिभिजन इन्जियनर एवं सहरी विकास तथा प्राविधिक महाशाखा प्रमुख दिजराज भट्टले बताए।

‘६ लेन सडकको दुबैतिर कलर लगाएर साइकलको ट्याक निर्माण गरिनेछ। सडकको दायाँबायाँ प्रिन्ट गर्दै तथा साइकलको तस्वीर बनाउँदै लेन छुट्याउने काम हुनेछ।

थर्मप्लाष्टिक नामक पेन्ट उपकरणको सायताबाट लगाइने उनले बताए। यस्तो पेन्ट मजबुद र टिकाउ हुने भएकाले बोलपत्र खोल्ने वित्तिकै सम्झौता हुने उपमहानगरले जनाएको छ।

मोहनापुल–अत्तरिया ६ लेन सडक अन्तर्गत धनगढी उपमहानगर क्षेत्रभित्र राखिएका सबै डिभाइडर यसअघि नै हटाइसकिएको छ। अब ती स्थानमा सडकको अवरोध नहुने गरी साइकल लेन बनाइने भएको हो।

यसले सहरी सौन्दर्यता बढ्नुका साथै दुर्घटनामा समेत कमि आउने अपेक्षा उपमहानगरले गरेको छ। धनगढीको ६ लेन सडकमा साइकल लेन बनाउन उपमहानगरको नगरकार्यपालिका बैठकले निर्णय नै गरेर त्यसका लागि बोलपत्र आह्वान समेत गरिसकिएको छ।

साइकल लेनमा ठूला तथा अन्य सवारी चलाउन पाइने छैन्। साइकलका चित्र भएका लेनमा केबल साइकल मात्र चलाउन पाउने गरी उपमहानगरले युग सुहाउँदो साइकल लेन निर्माण गर्न लागेको हो।

Dhangadhi 2081
Loading...