अत्तरिया : कैलालीको गोदावरी नगरपालिका – १० मा विकासका लागि युवा ऐक्यबद्धता (यार्ड) ले विद्यार्थी भर्ना अभियान सञ्चालन गरेको छ ।
‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा, प्राप्तिको सुनिश्चितता’ भन्ने नाराका साथ यार्डले वडा कार्यालय र स्थानीय विद्यालय सँगको समन्वयमा विद्यार्थी भर्ना अभियान सञ्चालन गरेको हो ।
यार्डकी कार्यकारी निर्देशक मनु नेपालीले बालबालिकालाई विद्यालय सम्म पहुँच पु¥याउनको लागि अभियान सञ्चालन गरिएको बताइन् । ‘हामीले भर्खरै विद्यालय भर्ना हुने, विद्यालय छोडेका, आर्थिक अवस्था कमजोर भएका परिवारका २० जना बालबालिकालाई समेटेर अभियान सञ्चालन गरेका छौ’ उनले भनिन् ‘छनोट भएका बालबालिकालाई स्टेसनरी सामग्री पनि सहयोग गरेका छौ ।’ उनले पालिका भित्रका ४ वडाका ८० जना बालबालिकालाई अभियानमा समेटिने बताइन् ।
यार्डले शैक्षिक सत्र २०८१ मा विद्यालय भर्ना अभियान अन्तरगत गोदावरीका वडा नम्बर १, ४, ७ र १० मा कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । जसअन्तर्गत पहिलो चरणमा वडा नम्बर १० मा अभियान सञ्चालन गरिएको परियोजनाकी संयोजक सरस्वती बुढाथोकीले बताइन् । अभियान अन्तरगत विद्यार्थी र अभिभावक सहभागी ¥याली निकालिएको थियो ।