अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–५ मा रहेको गेटा आँखा अस्पतालबाट ९ महिनामा १ लाख ८८ हजार ३५ जनाले सेवा लिएका छन ।
नेपाल नेत्रज्योति सङ्घ अन्तर्गत सञ्चालित अस्पतालले चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म सो संख्यामा सेवा लिएका हुन । जसमा १७ हजारभन्दा बढीका आँखाको शल्यक्रिया गरिएको छ ।
त्यसमध्ये १२ हजार ३ सय ८५ जनाको मोतियाबिन्दु र अन्य समस्या भएका ५ हजार २३ जनाको आँखाको शल्यक्रिया गरेको गेटा आँखा अस्पतालका सूचना अधिकारी गोविन्दप्रसाद जोशीले जानकारी दिएका छन ।
अस्पतालमा हाल उपचारका लागि दैनिक ४ सयको हाराहारीमा बिरामी आउने गरेका छन । त्यसमध्ये दैनिक ७० देखि ८० जना बिरामीको आखाँको शल्यक्रिया हुने गरेको सूचना अधिकार जोशीले बताए ।
अस्पतालबाट गत वर्ष २ लाख ७० हजार ४ सय ९६ जनाले उपचार सेवा लिएका थिए । जसमा २४ हजार ७ सय ६१ जनाको आँखाको शल्यक्रिया गरिएको थियो ।