अत्तरिया : डडेल्धुराको जोगबुडा अस्पतालमा बृहत निःशुल्क स्वास्थ्य चेकजाँच तथा उपचार शिविर संचालन भएको छ ।
शनिवार निसर्ग अस्पताल धनगढी, लायन्स क्लब अफ धनगढी हेल्थ एण्ड मेडिकलको र परशुराम नगरपालिका जोगबुडा अस्पताल डडेल्धुराको संयुक्त आयोजनामा स्वास्थ्य चेकजाच शिविर संचालन भएको हो ।
बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म संचालन भएको शिविरमा फिजिसियन (जनरल मेडिसिन) डाक्टरद्वारा मुटुरोग, ब्लड प्रेशर, सुगर, पेट, ग्यास्ट्रीक, अल्सर, छाती, दम, कलेजो,कोलेस्ट्रोल, टाईफाईड, थाईराईड, हर्मोन, डेंगु, स्क्रब टाईफस, सिकलसेल, एनिमिया लगायतका जाँच तथा औषधी समेत निशुल्क प्रदान गरिएको बताइएको छ।
यस्तै शिविरमा स्त्री तथा प्रसुती रोग भएका ४० जना, हाडजोर्नी, नसा तथा बाथरोग सम्बन्धि समस्या भएका २९५ जना, मानसिक रोग भएका ९२ जना, जनरल सर्जरी तथा युरो सर्जरीको समस्या भएका १०२ जना, २१ जना एक्सरे, ल्याब ३४ जना, ईसिजी २४५ जना र जनरल मेडिसिन तर्फ ३६३ जना गरी एक हजार एक सय ९२ जनाले विशेषज्ञ उपचार सेवा लिएका छन ।
थप चेकजाँच उपचार तथा अप्रेशनमा ३० प्रतिशत सम्म छुट गरेको बताइएको छ । विशेषज्ञ डाक्टरको सुविधा नभएको जोगबुडा, डडेल्धुरामा विशेषज्ञ चिकिस्तकहरुद्वारा बृहत स्वास्थ्य चेकजाँच तथा उपचार शिविर संचालन भएकोमा जोगबुढावासी हर्षित भएका छन ।