धनगढी : जैविक विविधताले महत्वपूर्ण विश्व रामसार क्षेत्र कैलालीको घोडाघोडी तालमा चरा उत्सव तथा चरा फोटा प्रदर्शनी कार्यक्रम सुरु भएको छ । अन्तर्राष्ट्रिय जैविक विविधता दिवसका अवसरमा आज (बुधबार) एक औपचारिक कार्यक्रमबिच फोटो प्रदर्शनी सुरु गरिएको हो ।
डिभिजन वन कार्यालय पहलमानपुरको आयोजना तथा नेपाल पंक्षी संरक्षण सङ्घको व्यवस्थापनमा सुरु भएको चरा उत्सव तथा फोटा प्रदर्शनी जेठ १३ गतेसम्म जारी रहने जनाइएको छ ।
नेपालकै पहिलो चरा अभय आरण्य क्षेत्र घोडाघोडीमा पहिलो पटक भएको फोटो प्रदर्शनी कार्यक्रममा नगरप्रमुख खडकबहादुर रावतले फोटोमा भएका चरा ताल क्षेत्रमा सधै संरक्षण गर्न सरोकारवाला सबै जुट्नुपर्ने बताए । उनले जैविक विविधता अन्तर्गत घोडाघोडीमा रहेका विभिन्न आगन्तुक तथा रैथाने चरा संरक्षणका लागि फोटो प्रदर्शनी कार्यक्रमले सचेतनाको काम गर्नेमा विश्वास व्यक्त गरे । संरक्षणका लागि योगदान गर्ने व्यक्तिलाई नगरप्रमुख रावतले धन्यवाद समेत ज्ञापन गरेका छन् ।
घोडाघोडीमा ३८० प्रजातिका चरा पाइने रेकर्डमा उल्लेख छ । २०७८ फागुनमा सुदूरपश्चिममा प्रदेश सरकारले नेपालको पहिलो चरा अभय आरण्य (बर्ड सेन्चुरी) क्षेत्र घोषणा गरेपछि घोडाघोडीको संरक्षणमा चासो दिन थालिएको छ ।
डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख रामविचारी ठाकुरले घोडाघोडीमा चराको फोटो प्रदर्शनबाट बृहतरुपमा संरक्षणका लागि सचेतना फैलाउनुका साथै चरा पर्यटन विकासमा सहयोग पुग्ने बताए । उनले घोडाघोडी घुम्न आउने पर्यटकले घोडाघोडीमा धेरै चरा पाइन्छन् भन्ने सुने पनि प्रत्यक्ष अवलोकनबाट सबै चरा देख्न नपाएको अवस्थामा फोटा अवलोकनबाट लाभ लिन सक्ने बताए ।
लामो समयदेखि घोडाघोडी क्षेत्रको चरा गणना कार्यमा सक्रिय नेपाल पंक्षी संरक्षण सङ्घका फिल्ड अधिकृत तथा चराविद् हिरुलाल डंगौराले प्रदर्शनीमा राखिएका चराका बारेमा जानकारी गराए । उनले घोडाघोडीमा पाइने महत्वपूर्ण चराहरुमध्ये ६५ वटा फोटो प्रदर्शनीमा समावेस गरिएको जनाउँदै ती चरा गणना भएको बर्ष र विशेषता बारेमा जानकारी दिए ।
चरा उत्सव तथा फोटो प्रदर्शनी कार्यक्रममा प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ प्रमुख डबल बोहराले घोडाघोडीको जैविक विविधता संरक्षणसँगै पर्यटन प्रबर्धनमा चरा उत्सव तथा फोटा प्रदर्शनीले सहयोग पुग्ने बताए ।
