आजदेखि आईपिभि खोप अभियान सुरु, सुदूरपश्चिममा डेढ लाख बालबालिकालाई लगाइँदै

अत्तरिया : आजदेखि पोलियो विरुद्धको आईपिभि खोप अभियान २०८१ सुरु हुँदै छ । अभियान अन्तरगत सुदूरपश्चिममा १ लाख ५१ हजार ६३५ बालबालिकालाई खोप लगाइँदै छ । प्रदेशमा बैतडी बाहेकका जिल्लामा आज (आइतबार) देखि खोप अभियान सुरु भइरहेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । बैतडीमा भने जेठ १६ गतेदेखि अभियान सुरु हुँदै छ ।

यो खोप २०७३ साल वैशाख देखि २०७५ साल आश्विन महिनासम्म जन्मिएका बालबालिकालाई लगाइने स्वास्थ्य निर्देशनालयका तथ्यांक सहायक डीएन गिरीले बताए । पोलियो उन्मुलन भएका दक्षिण एसियाका देशहरूमा पोलियो रोगबाट पुर्णरुपमा सुरक्षित हुन आईपीभी खोप अनिवार्य भएकाले अभियान सञ्चालन गर्न लागिएको हो ।

अभियान अन्तरगत सबैभन्दा बढी कैलालीमा ४५ हजार ९०९ बालबालिकालाई खोप लगाउन लागिएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख आशुतोष श्रेष्ठले कैलालीमा जेठ १३ देखि २६ गते सम्म १३ वटै पालिकामा खोप अभियान सञ्चालन हुने बताए । खोप अभियानलाई प्रभावकारी बनाउन आईपीभी खोप लगाउने उमेर समूहका अधिकांश बालबालिकाहरू विद्यालय जाने उमेरका भएका कारण विद्यालयमा खोप केन्द्रहरू राखिने उनले बताए ।

त्यस्तै विद्यालय नजाने बालबालिकाहरूले पनि नजिकैको विद्यालयमा गएर खोप लगाउन सक्ने जनाइएको छ । कैलालीमा भने खोप लगाउन लक्षित सबै बालबालिका विद्यालय भित्रकै रहेको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ । कैलालीमा खोप अभियानका लागि ८६६ खोप केन्द्रमा ८६६ खोप दिने स्वास्थ्यकर्मी र १ हजार ७३२ स्वास्थ्यकर्मी परिचालन गरिँदै छ ।

खोप अभियान अन्तरगत कञ्चनपुरमा ३३ हजार ९४२ बालबालिकालाई खोप लगाइने भएको छ । कञ्चनपुरमा पनि जेठ १३ देखि २६ गते सम्म पालिकाका विद्यालय र खोप केन्द्रमा खोप लगाइने भएको हो । खोप अभियानका लागि जिल्लामा १५३ स्वास्थ्यकर्मी र ७१० महिला स्वास्थ्य स्वयंसेविका गरी ८६३ जना परिचालन गरिएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । जिल्लामा ५८५ खोप केन्द्र तोकिएका छन् । यहाँ १ हजार १५८ बालबालिका विद्यालय बाहिरका खोप लगाउने लक्षित समूहमा रहेका छन् ।

जेठ १३ देखि २३ गते सम्म खोप अभियान सञ्चालन हुने अछाममा १३ हजार ५९७ बालबालिकालाई पोलियो विरुद्धको आईपीभी खोप लगाइने जनाइएको छ । यहाँ खोप कार्यक्रमका लागि ३७८ खोप केन्द्रमा ३७८ खोप दिने स्वास्थ्यकर्मी र ७५६ स्वयंसेविका परिचालन गरिने स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । जिल्लामा खोप लगाउने १०१ बालबालिका विद्यालय बाहिर रहेका छन् ।

बझाङमा १२ हजार ९१३ बालबालिकालाई आईपीभी खोप लगाइने भएको छ । जसका लागि यहाँ ३४९ खोप केन्द्र तोकिएका छन् भने २४१ स्वास्थ्यकर्मी र ६८२ स्वयंसेवक परिचालन गरिएको निर्देशनालयले जनाएको छ ।
यस्तै डोटीमा १२ हजार २३७ बालबालिकालाई आईपीभी खोप लगाइँदै छ । खोप कार्यक्रमका लागि डोटीमा ४३८ खोप केन्द्रमा ४३८ स्वास्थ्यकर्मी र ८७२ स्वयंसेवक परिचालन गरिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । डोटीमा जेठ १३ देखि नै सुरु हुने अभियान २२ गते सम्म सञ्चालन हुने जनाइएको छ ।

यसैबिच बाजुरामा ७ हजार ३ सय १९ बालबालिकाहरूलाई आईपीभी खोप लगाइने भएको छ । बाजुरामा जेठ १३ गते देखि १८ गतेसम्म सञ्चालन हुने स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दले बताए । उनले खोप केन्द्रमा खोप लगाउन छुटेका बालबालिकालाई जेठ २६ गतेसम्म पनि उनीहरूको पायक पर्ने खोप केन्द्रमा खोप लगाइने बताए । जिल्लामा ३ सय खोप केन्द्र तोकेर खोप लगाइने र, सो उमेर समूहका बालबालिकाहरू सबै विद्यालय जाने भएकाले विद्यालयमै गएर खोप लगाइने स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । खोप केन्द्रमा ३ सय स्वास्थ्यकर्मी र ६ सय स्वयंसेवक खटिने भएका छन् ।

यसैबिच दार्चुलामा ६ हजार ६१५, डडेलधुरामा ६ हजार १८७ बालबालिकालाई आईपीभी खोप लगाइँदै छ । अभियानका लागि दार्चुलामा ३५५ र डडेलधुरामा २४० खोप केन्द्र तोकिएका छन् । दुवै जिल्लामा जेठ १३ देखि सुरु भएको अभियान दार्चुलामा जेठ १९ र डडेलधुरामा जेठ २२ गते सम्म सञ्चालन हुने स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

जेठ १६ गतेदेखि आईपीभी खोप अभियान सुरु हुने बैतडीमा १२ हजार ८३५ बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको छ । जसका लागि ४६० केन्द्र तोकिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

Nabadurga Sunchadi
Loading...