अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-५ ले आगामी आर्थिक वर्षका लागि ७५ लाख १० हजारको बजेट सार्वजनिक गरेको छ । आज (बुधबार) वडा कार्यालयले वडा भेलाको आयोजना गर्दै आगामी आर्थिक वर्षका लागि ७५ लाख १० हजारको बजेट सार्वजनिक गरेको हो ।
वडाभेलामा बजेट प्रस्तुत गर्दै वडाध्यक्ष सुद्धिराम चौधरीले पुर्वाधारका क्षेत्रमा ३७ लाख ५६ हजार रुपैया बजेट विनियोजन गरिएको बताए । उनले उक्त बजेटले सडक तथा यातायात व्यवस्था, शहरी विकास, सूचना तथा सञ्चार, जलविद्युत तथा वैकल्पीक उर्जा र स्थानिय पुर्वाधारमा खर्च गरिने बताए ।
यस्तै वडाले सामाजिक विकास तर्फ १६ लाख ५२ हजार रुपैया विनियोजन गरेको छ । जुन स्वास्थ्य तथा पोषण, शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद, महिला, बालबालिका तथा समाज कल्याण, संरक्षण, खानेपानी तथा सरसफाई लगायतका योजनाहरुमा खर्च गरिने बताईएको छ।
आर्थिक क्षेत्रमा वडाले ११ लाख २६ हजार रुपैया विनियोजन गरेको छ । उक्त बजेटबाट कृषि तथा पशुपंक्षी, सिँचाई, उद्योग, वाणिज्य तथा आपुर्ति, सांस्कृतिक तथा पर्यटन, सहकारी तथा गरिवि निवारण लगायतका योजनाहरु सञ्चालन गरिनेछन ।
यस्तै सुशासन तथा अन्य क्षेत्रमा ६ लाख ७६ हजार र वन तथा वातावरणमा ३ लाख रुपैया बजेट विनियोजन गरिएको वडाध्यक्ष चौधरीले बताए ।
