अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-८ ले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेको छ । बिहीबार वडा कार्यालयले वडा भेलाको आयोजना गर्दै आगामी आर्थिक वर्षका लागि ७२ लाख ३८ हजार ९ सय ३९ रुपैया बजेट सार्वजनिक गरेको हो ।
वडाभेलामा बजेट प्रस्तुत गर्दै वडा अध्यक्ष गोबिन्द चौधरीले भौतिक पूर्वाधार विकास तर्फ ३१ लाख १० हजार, सामाजिक विकास तर्फ २५ लाख १५ हजार ९ सय ३९ रुपैया विनियोजन गरिएको बताए ।
त्यसैगरी आर्थिक विकास तर्फ ८ लाख ६९ हजार, वातावरण तथा विपद व्यवस्थापनका लागि ५ लाख र सार्वजनिक सेवा तथा संस्थागत क्षमता विकासका लागि ६ लाख ९४ हजार बजेट विनियोजन गरिएको छ ।
वडा अध्यक्ष गोविन्द चौधरीको अध्यक्षतामा आयोजित वडा भेला कार्यक्रममा नगर प्रमुख विरेन्द्र भट्ट प्रमुख अतिथि रहेका थिए भने कार्यक्रममा उपप्रमुख शारदा देवी रोकाया, नगर प्रवक्ता तथा वडा नम्बर १ का वडा अध्यक्ष गोपाल दत्त भट्ट, वडा नम्बर ७ कि वडा अध्यक्ष कलावती साउद, राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि तथा वडाबासीका उपस्थिती रहेको थियो ।
