काठमाण्डाै : नेपालमा सुर्तीजन्य पदार्थको प्रयोगका कारण वर्षमा ३९ हजार जनाभन्दा धेरैको ज्यान जाने गरेको पाइएको छ ।
नेपालमा कुल जनसङ्ख्याको २८ दशमलव ९ प्रतिशतले सुर्तीजन्य पदार्थको प्रयोग गर्ने र यसरी प्रयोग गर्नेमध्ये वर्षेनि ३९ हजार जनाको हाराहारीले ज्यान गुमाउने गरेका स्वास्थ्य प्रवर्द्धन तथा सुर्तीजन्य पदार्थ नियमन शाखा प्रमुख डा. भक्तबहादुर केसीले जानकारी दिए ।
सुर्तीजन्य प्रदार्थको प्रयोगले फोक्सो, मुख, जिब्रो लगायतको क्यान्सर र विभिन्न प्रकारका दीर्घरोगको जोखिम बढ्ने क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले बताए । सुर्तीजन्य प्रदार्थको प्रयोगले फोक्सोको क्यान्सर निम्त्याउने सम्भावना २२ गुणले बढाउने शाहीले बताए ।
आज विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस नेपालमा पनि मनाइएको छ । सुर्तीजन्य प्रदार्थको प्रयाेगले शरीरका सबै अङ्गमा असर गर्छ ।
