धनगढी : शिक्षा क्षेत्रमा सुदूरपश्चिम प्रदेशमै उत्कृष्ट योगदान पुगाएको भन्दै कैलालीको धनगढी उपमहानगरपालिकालाई सम्मान गरिएको छ ।प्रिन्सिपल एशोसियशन अफ नेपाल (पान) ले शिक्षा क्षेत्रमा सुदूरपश्चिम प्रदेशमै सबैभन्दा बढी योगदान गरेको भन्दै उपमहानगरपालिकालाई सम्मान गरिएको हो ।
यही जेठ २६ गतेदेखि सुरु भएको प्रिन्सिपल एशोसियशन अफ नेपालको राष्ट्रिय सम्मेलनमा धनगढी उपमहानगरपालिकालाई आज (शनिबार) सम्मान गरिएको छ । सम्मेलन २८ गतेसम्म चल्नेछ । शिक्षा क्षेत्रमा अतुलनीय योगदान पुगाएको आधारमा सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट पालिकाको रुपमा धनगढीलाई सम्मान गरिएको उपमहानगरपालिकाले जनाएको छ ।
धनगढी उपमहानगरपालिकाकी नगर उपप्रमुख कन्दकला कुमारी रानाले सो सम्मानपत्र ग्रहण गरेकी छन् । उपमहानगरपालिकाले ग्रामीण क्षेत्रका पाँचवटा विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्न काम सुरु गरिसकेको छ । धनगढीमा शिक्षा क्षेत्रको सुधारका लागि शिक्षकलाई आवश्यक तालिम दिनेदेखि कक्षामा विद्यार्थी नियमित रुपमा हाजिरी भए/नभएको विषयमा पनि जानकारी लिने र आवश्यक सुधार गर्ने प्रयास गर्दै आएको छ ।
उपमहानगरपालिकाले ‘धनगढी नगरप्रमुख शैक्षिक सुधार कोष’ नै स्थापना गरेर शिक्षामा सुधार ल्याउने प्रयास थालेको छ । उपमहानगरपालिकाले ग्रामीण क्षेत्रका विद्यालयलाई छनौट गरी नमुना विद्यालय बनाउन पहल चालेको छ। ती विद्यालयमा अध्ययनरत छात्रछात्राहरु आर्थिक अभावका कारण ‘ड्रप आउट’ हुन नपरोस् भनेर नगरप्रमुख शैक्षिक सुधार कोष स्थापना गरेको छ । कोषमा विभिन्न व्यक्ति एवं संघसंस्थाले सहयोग समेत गर्न थालेका छन् ।
