अछाम : अछामको पञ्चदेवल विनायक नगरपालिका-९ र दैलेखको आठबिस नगरपालिका-४ जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिएको छ । लठ्ठा चुँडिएपछि दुई जिल्लाबीच आउजाउ बन्द भएको छ भने पुलमा हिँडिरहेका १२ खच्चर पुलमै अड्किएका छन् ।
सुदूरपश्चिम र कर्णाली प्रदेशलाई जोड्ने उक्त पुलको एकातर्फको लठ्ठा चुँडिएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय अछामले जिप्रकाबाट पनि प्रहरीको टोली घटनास्थल पुगिरहेको र घटनास्थल नजिक पर्ने प्रहरी चौकीबाट प्रहरी टोली उद्धारमा खटिएको बताएको छ ।
पुलमा हिँडिरहेका १३ खच्चरमध्ये एक खच्चर पुलबाट खसेकोमा उद्धार गरिसकिएको बताइएको छ । जिल्ला प्रशासन कार्यालय दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले पनि उद्धारका लागि टोली खटाइएको बताएका छन् ।
