अत्तरिया : कैलालीको अत्तरिया बसपार्कमा सरसफाई गरिएको छ । गोदावरी नगरपालिकाले ठेला व्यवसायीहरु सहितलाई सहभागि गराएर आज बिहान बसपार्कमा सरसफाई गरेको हो ।
अत्तरिया बसपार्कमा ठेला राखेर व्यापार गरिरहेका व्यवसायीहरुले पनि सो क्षेत्रमा फोहोर गर्ने भएकाले ठेला व्यवसायीहरुलाई समेत सहभागि गराईएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले विगतका भन्दा केही फरक ढंगले सरसफाई कार्यक्रम आयोजना गरिएको बताए । उनले फोहोरको वर्गीकरण गरेर फरक फरक बोराहरुमा हालेर नगरपालिकाले सरसफाई गरेको बताए । धेरै पटक अत्तरिया बजारमा सरसफाई अभियान अगाडी बढाएको पनि उनले बताए । उनले सरसफाई अभियान अगाडी बढाए पनि व्यवसायीहरुलाई अझै पनि जनचेतना नभएको बताएका छन् । व्यवसाय गरिरहेको भएपनि बसपार्क व्यवस्थीत पार्ने, सफा राख्ने सोचबाट व्यवसायीहरु टाढा रहेको नगरप्रमुख भट्टले बताए ।
नगरपालिकामा फोहोरमैला व्यवस्थापनको जिम्मेवारी सम्हालिरहेका कर्मचारी परमल सिँ महराले फोहोरको स्रोतमै वर्गिकरण गर्ने गरि सिकाईको रुपमा कार्यक्रम आयोजना गरिएको बताए । उनले नगरका टोलबस्तीहरुमा पनि उक्त कार्यक्रमलाइ निरन्तर रुपमा गर्दै आएको बताए । आईतबार गोदावरी पुल सेरोफेरोमा सरसफाई गरिएको बताउदै उनले अर्काे दिन स्याउले क्षेत्रमा सरसफाई गरिने बताए ।
सरसफाई कार्यक्रममा नगरप्रमुख भट्टसहित नगरपालिकाका कर्मचारी, स्थानिय व्यापारी व्यवसायीहरुको सहभागिता रहेको थियो ।
