सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले गरे मन्त्रीमण्डल विस्तार,सात मन्त्रीले लिए शपथ

स्वतन्त्र सांसद डा.तारा जोशीले गरे मन्त्री पद अस्वीकार

धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मन्त्री मण्डल विस्तार गरेका छन् । बैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका  सोडारीले आज (सोमबार) मन्त्रीमण्डल विस्तार गरेका हुन् ।

सोडारीले नेकपा माओवादी केन्द्र र नेकपा एमालेबाट ३/३ जना, एक जना एकीकृत समाजवादीका सांसदलाई मन्त्रीमा नियुक्त गर्दै मन्त्रीमण्डल विस्तार गरेका हुन् ।

मुख्यमन्त्री सोडारीले एमालेका सुरेन्द्रबहादुर पाललाई आर्थिक मामिला, माओवादी केन्द्रका ओमविक्रम भाटलाई सामाजिक विकास मन्त्रीमा नियुक्त गरेका छन् । त्यस्तै उनले एमालेका वीरबहादुर थापा, हिरा सार्की, माओवादी केन्द्रका अक्कलबहादुर रावल, लक्ष्मी विक र एकीकृत समाजवादीकी माया पन्तलाई विना विभागीय मन्त्रीमा नियुक्त गरेका छन् ।

मुख्यमन्त्री सोडारीले स्वतन्त्र सांसद डा.तारा जोशीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिने तयारीमा थिए । तर उनले मन्त्री पद अस्वीकार गरेको स्रोतले बताएकाे छ ।

प्रदेश प्रमुख नजिर मियाँले एक कार्यक्रमबिच सातै जनालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

सुदूरपश्चिममा यसअघि नागरिक उन्मुक्ति पार्टीबाट कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्री र टीका थापालाई भूमि व्यवस्था कृषि सहकारी मन्त्रीमा नियुक्त भैसकेका छन् । योसँगै सुदूरपश्चिममा मुख्यमन्त्रीसहित मन्त्रीहरूको सङ्ख्या १० पुगेको छ ।

यस्तै माओवादी पार्टीभित्र मन्त्री सिफारिसको विषयलाई लिएर विवाद सुरु भएको छ । पाँच जना सांसदहरुले संसदीय दलभित्र सल्लाह नगरी मन्त्री सिफारिस गरेको भन्दै तत्काल मन्त्री नियुक्त नगर्न मुख्यमन्त्री सोडारीलाई ध्यानाकर्षण पत्र बुझाएका छ्न् । सांसदहरु खगराज भट्ट, झपट साउँद, शिवसिंह ओली, रमेश धामी र जानकी कुँवर पौडेलले संयुक्तरूपमा ध्यानाकर्षण पत्र बुझाएका हुन् । प्रदेश सभामा माओवादीका सभामुखसहित ११ सांसद छन् ।

Nabadurga Sunchadi
Loading...