अत्तरिया : कैलालीको चुरेका किसानलाई अनुदानमा मिनिटिलर वितरण गरिएको छ । सोमबार चुरे गाउँपालिकाले ५० प्रतिशत अनुदानमा ५० जना किसानलाई मिनिटिलर वितरण गरेको हो ।
गाउँपालिकाका अध्यक्ष चक्र बहादुर बोगटीले तरकारी र फलफूल खेती गर्ने किसान तथा समूहलाई मिनिटिलर वितरण गरिएको बताए । उनले व्यवसायी खेती गर्नको लागि मिनिटिलर सँगै मलको लागि पशुपालन गर्न किसानहरूलाई आग्रह गरे । उनले रासायनिक मलको प्रयोग गर्दा माटोको उर्वराशक्ति ह्रास हुँदै जाने भएकाले प्राङ्गारिक मलको प्रयोग गर्नका लागि पशुपालन गर्न आग्रह गरेका थिए ।
गाउँपालिकाले इबिडिङ मार्फत बोलपत्र आह्वान गरेर मिनिटिलर खरिद गरेको जनाएको छ । ४३ हजार ४ सयमा खरिद गरिएका मिनिटिलरका लागि किसानहरूले २१ हजार ७ सय र बाँकी पालिकाले भुक्तानी गरेको गाउँपालिकाले जनाएको छ ।
