कृष्णपुर-९ मल्लो राजघाट र राजपुर जोड्ने झोलुङ्गे पुलको शिलान्यास

अत्तरिया : कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ९ को मल्लो राजघाट र कैलालीको राजपुर बजार जोड्ने झोलुङ्गे पुलको शिलान्यास गरिएको छ । शुक्रबार कञ्चनपुरको कृष्णपुर नगरपालिकाकी उप प्रमुख द्रोपदी रानाले पूजा गरेर पुलको शिलान्यास गरेकी हुन् । कृष्णपुर नगरपालिकाले उपभोक्ता समिति मार्फत १ करोड नौ लाख ४४ हजार तीन सय ५७ रुपैयाँको लागतमा पुल निर्माण गर्न लागको हो ।

२०८३ जेठ १ गते भित्र सम्पन्न गर्ने गरि एक सय १९ दशमलव ८० मिटर लामो पुल निर्माणका लागि २०८० जेठ १ गते सम्झौता भएको थियो । झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमको ८५ लाख ७८ हजार एक सय ५७ अर्थात ७८ दशमलव ३८ प्रतिशत, कृष्णपुर नगरपालिकाको १४ लाख २२ हजार सात सय ६६ रुपैँया अर्थात १३ प्रतिशत र समुदायको २ लाख १८ हजार आठ सय ८७ रुपैयाँ अर्थात २ प्रतिशत लागतको दायित्व रहेको छ । नेपाल सरकाले सात लाख २४ हजार पाँच सय ४६ रुपैँया अर्थात ६ दशमलव ६६ प्रतिशत बराबरका लठ्ठा उपलब्ध गराउने बताईएको छ ।

मल्लो राजघाट बासीको समस्यालाई मध्य नजर गर्दै पुल निर्माणको काम अघि बढाईएको कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले बताए । ओझाले झोलुङ्गे पुल निर्माण सम्पन्न भएपछी यहाँका बासीन्दालाई राजपुर बजारसम्म पुग्न सहज हुने विश्वास व्यत्त गरे । उनले हाल मोहना नदीमा चपरतला-चटकपुर जोड्ने पक्कीपुल,तल्लो राजघाट र बोराडाँडी जोड्ने झोलुङ्गे पुल,मजगाँउ-गेटा माछा पालन झोलुङ्गे पुल,शान्तिपुर-गेटा झोलुङ्गे पुल र शान्तिपरु-ॐ शान्ति चोक मनहरा जोड्ने झोलुङ्गे पुलहरु सञ्चालनमा रहेका बताए । तर यी सबै पुलहरु टाढा भएका कारण मल्लो राजघाटबासी काठे पुलबाट जोखिमपुर्ण यात्रा गर्दै आईरहेका उनले बताए ।

त्यस्तै उप प्रमुख रानाले झोलुङ्गे पुल निर्माण पछी वडा नम्बर ९ मा उत्पादन भएको तरकारीले पनि बजार पाउने बताईन् । उनले वडामा थारु समुदायको बस्ती रहेको र सबै कृषिमा आत्मनिर्भर रहेकाले अब पुलबाट कैलालीको राजपुर, धनगढीमा गएर तरकारीहरु बिक्रि गर्न सहज हुने बताईन् । वडा नम्बर ९ का वडा अध्यक्ष कैलाश बहादुर बलायरले धनगढीसंग ओहोरदोहोर गर्न बाधक बनेको मोहना नदीमा झोलुङ्गे पुल निर्माण सुरु भएपछी केहि राहत महसुुस भएको बताए ।

स्थानीय प्रभुराम चौधरीले झोलुङ्गे पुल निर्माण सुरु भएकोमा खुसी व्यत्त गरे । हिउँदको बेलामा काठे पुलको प्रयोग गरेर आहोरदोहोर गर्ने गरेपनि वर्षाको समयमा भने दुख झेल्दै आएका वडाबासिलाई सहज हुने उनले बताए । त्यस्तै स्थानीय कालीका चौधरीले वर्षाको समयमा बिरामी लैजान समेत मुस्किल हुँदै आएकोमा झोलुङ्गे पुल निर्माण भएपछी सहज हुने बताईन् ।

कृष्णपुर नगरपालिका वडा नम्बर ९ स्थीत मल्लो राजघाटका बालबालिकाहरु कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ५ मा रहेको सरस्वती मावि लगायतका विद्यालयमा अध्ययनका लागि समेत आउने गरेका छन् । त्यस्तै यहाँका बासीन्दा दैनिक ज्याला मजदुरीका लागि,तरकारी लगायतका उपज बिक्रि गर्न धनगढी उप महानगरपालिकाको राजपुर, धनगढी बजार नियमित ओहोरदोहोर गर्ने गर्दछन् ।

मोहना नदीमा हिउँदको समयमा काठको पुल निर्माण गर्ने गरिएको छ । तर, बर्खाको समयमा काठको पुल मोहना नदीको बाढीले बगाउने गरेको छ । पुलमा मानिसका लागि पाँच रुपैयाँ, साइकलका लागि १० रुपैयाँ र मोटरसाइकलका लागि २५ रुपैयाँ एक पटक ओहोर दोहोर गरेको लिने गरिएको छ ।

Nabadurga Sunchadi
Loading...