धनगढी : सुदूरपश्चिम सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३१ अर्ब ६२ करोड रुपैयाँ को बजेट ल्याएको छ । प्रदेश सरकारका आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले आगामी आर्थिक वर्षका लागि साढे ३१ अर्बभन्दा बढीको बजेट प्रस्तुत गरेका छन् ।
उनले दिउँसो ४ बजेदेखि सुरु भएको सुदूरपश्चिम प्रदेशसभामा करिब डेढ घण्टा लामो भाषणमार्फत आगामी वर्षको बजेट प्रस्तुत गरे । मन्त्री पालले असार १ गते प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेट ल्याउनै पर्ने संवैधानिक व्यवस्थाअनुसार बजेट भाषण गरेका हुन् ।
चालु आर्थिक वर्षका लागि २९ अर्ब २६ करोडको बजेट ल्याएको सुदूरपश्चिम सरकारले अगामी आर्थिक वर्षका लागि ३१ अर्ब ६२ करोडको बजेट सार्वजनिक गरेको हो। प्रदेश सरकारले ११ अर्ब ७ करोड चालु र १७ अर्ब ५३ करोड पुँजीगत बजेट सार्वजनिक गरेको छ। कुल विनियोजित बजेटमध्ये विकासतर्फ ५५ र चालुतर्फ ४५ प्रतिशत बजेट विनियोजन गरिएको छ ।
प्रदेश सरकारले पूर्वाधार निर्माणका लागि पाँच अर्ब ६८ करोड, सामाजिक क्षेत्रका लागि ६ अर्ब ७४ करोड बजेट विनियोजन गरेको छ। ८६ करोडको बजेट स्थानीय तहहरुमा समानिकरण अनुदान र ५६ करोड ससर्त अनुदान दिन बजेट विनियोजन गरिएको छ ।
यसका साथै तीन अर्ब ९ करोडको बजेट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, २ अर्ब चार करोडको बजेट उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, पाँच अर्ब ६८ करोडको बजेट भौतिक पूर्वाधार विकास मन्त्रालय, ६ अर्ब ७४ करोडको बजेट सामाजिक विकास मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ३८ करोड ६९ लाख बजेट प्राप्त गरेको छ ।
बजेटको पुर्ण पाठ तलको लिंकमा
https://drive.google.com/file/d/1-j7s4P2fUJVAobJ87CJYr4W-1I1YHS65/preview
