दार्चुला : दार्चुलामा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ । आज (शनिबार) बिहान नौगाड गाउँपालिका-१ नागु लक्सेरीका ५५ वर्षीया धंके डडालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज १० बजेतिर सिकारीको भरुवा बन्दुकको गोली धंकेको टाउकोमा लाग्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले बताए ।
उनका अनुसार लक्सेरी नागु बस्ने अन्दाजी ५३ वर्षका जयसिंह डडालले चलाएको गोली लागेर धंकेको ज्यान गएको हो । स्थानीयका अनुसार बनमा धङ्के झाडीमा पासो थापिरहेका बेला जयसिंहले करिव ५० मिटर टाढाबाट झुक्किएर गोली हान्दा पासो थापिरहेका धङ्केको गोली लागेर ज्यान गएको प्रहरीले बताएको छ ।
गोली हान्ने जयसिंहलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी टोली खटिएको छ ।
