धनगढी : राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रकको कार्यालय (कक्षा १०)ले आज (विहिबार) माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।
कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार सुदूरपश्चिमबाट ३६ हजार ४१० विद्यार्थी अनुत्तीर्ण भएका छन् । ५३ हजार ४४६ जना परीक्षार्थी सहभागी हुँदा ३६ हजार ४१० जना अनुत्तीर्ण भएका हुन् । सो परीक्षामा १७ हजार ३७ परीक्षार्थी मात्र उत्तीर्ण भएका हुन् ।
यस प्रदेशबाट परीक्षामा सहभागि ५३ हजार ४ सय ४६ जना विद्यार्थीमध्ये ६८ प्रतिशत विद्यार्थीले ननग्रेड ल्याएका छन् । परीक्षामा नियमिततर्फ सुदूरपश्चिम प्रदेशबाट १५ प्रतिशत अर्थात् ३६ हजार ४१० जनाले ननग्रेड ल्याएका हुन् ।
देशभर परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । एसईई परीक्षामा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । जसमा कक्षा ११ पढ्न पाउने गरी २ लाख ४२ हजार ९२ जनामात्रै उत्तीर्ण भएका हुन् ।
बोर्डका अनुसार यसपटकको एसईई परीक्षामा सबैभन्दा बढी बागमती प्रदेशबाट ९९ हजार ८७२ जना सहभागी भएका थिए । त्यसमध्ये ३३ हजार ८४३ जनाले ननग्रेड ९एनजी० पाएका छन् ।
त्यस्तै, लुम्बिनी प्रदेशबाट एसईईमा ८० हजार ३२७ जना सहभागी भएका थिए । त्यसमध्ये ४९ हजार २२४ जना ननग्रेडमा समावेश भएका छन् । मधेश प्रदेशमा ७९ हजार ५९२ जना सहभागी थिए । त्यसमध्ये ४२ हजार २८६ जनाले ननग्रेड (एनजी) पाएका छन् ।
कोशी प्रदेशमा ७५ हजार ९८८ जना सहभागी भएका थिए । जसमा ३९ हजार ८९५ जना विद्यार्थी कक्षा ११ पढ्न अयोग्य भएका छन् । बोर्डका अनुसार गण्डकी प्रदेशमा ४० हजार ५२६ जना सहभागी भएका थिए । त्यसमध्ये २० हजार २७५ जना अनुत्तीर्ण भएका छन् ।
कर्णाली प्रदेशबाट एसईई परीक्षामा ३५ हजार ३४ जना सहभागी थिए । त्यसमध्ये एनजी २० हजार ३८० जना विद्यार्थी ननग्रेडमा समावेश भएका छन् ।
