अत्तरिया : कैलालीको अत्तरियाका तीन जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा चार जिपिए अंक प्राप्त गरेका छन् । एसइईमा ४ जिपिए हासिल गर्ने सुदुरपश्चिम प्रदेश भरीका ६ जना विद्यार्थी मध्ये अत्तरियाका मात्रै ३ जना बिद्यार्थीले ४ जिपिए अंक प्राप्त गरेका हुन् ।
चार जिपिए अंक ल्याउनेमा गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरिया क्षेत्रमा सञ्चालनमा रहेका तीन विद्यालय रहेका छन् । अत्तरियाको दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालय, सत्यवती एकेडेमी र तेघरीको सैनिक आवासीय महाविद्यालयका एक\एक जना विद्यार्थीले चार जिपिए अंक प्राप्त गरेका छन् ।
दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयकी छात्रा नितिका अवस्थीले सामुदायिक विद्यालयतर्फ सर्वाधिक ४ जिपिए हासिल गरेकी छन् । गोदावरी नगरपालिका वडा नम्बर ४ बसन्तपुर स्थायी ठेगाना भएकी अवस्थीले दुर्गालक्ष्मीबाट एसइई परीक्षामा सहभागी भएर ४ जिपिए हासिल गरेकी हुन् । सत्यवती एकेडेमीका निर्मल ठगुन्नाले पनि ४ जिपिए हासिल गरेका छन् । गोदावरी नगरपालिका वडा नम्बर १० घर भई हाल अत्तरिया बसोबास भएका ठगुन्नाले ४ जिपिए हासिल गरेका हुन् । यस्तै सैनिक आवासीय महाविद्यालय तेघरीका बिकास रावतले पनि ४ जिपिए हासिल गरेका छन् । अछाम घर हाल धनगढी बसोबास भएका रावतले एसईईमा चार जिपिए अंक प्राप्त गरेका हुन् ।
सुदुरपश्चिम प्रदेशमा ४ जिपिए हासिल गर्ने ४ जना कैलालीका र २ जना कञ्चनपुरका रहेका छन् त्यसमध्ये अत्तरियाका तीन जना रहेका छन् । २०८० चैत १५ गतेदेखि २७ चैतसम्म सञ्चालन भएको एसईई परिक्षाको नतिजा बिहीबार सार्वजनिक भएको हो ।
कैलालीका १८ हजार विद्यार्थीमा पाँच हजार मात्र उर्त्तीण
एसईईको नतिजामा कैलालीका ३० प्रतिशत विद्यार्थी मात्र उर्त्तीण भएका छन् । परीक्षामा १८ हजार ६० जना विद्यार्थी सहभागी भएकोमा पाँच हजार चार सय २८ जना मात्रै उर्त्तीण हुन् । उत्तीर्ण भएका मध्ये ४ जनाले ४ जिपीए प्राप्त गरेका छन ।
३३४ जनाले ३.६ देखि ४ जिपीए, एक हजार २९९ जनाले ३.२ देखि ३.५९ जिपीए, दुई हजार ९३ जनाले २.८ देखि ३.१९ जिपीए, एक हजार ५१९ जनाले २.४० देखि २.७९ जिपीए र १८३ जनाले २.०१ द्येखि २.३९ जिपीए अंक प्राप्त गरेको शिक्षा विकास तथा समन्वय इकाइका शाखा अधिकृत प्रतापसिंह धामीले बताए । कैलालीका १८ हजार ६० जना विद्यार्थी सहभागी भएकोमा ५ हजार ४ सय २८ जना मात्रै उर्त्तीण भएका छन् भने ५ हजार ५० जनाले ग्रेड सुधार परीक्षा दिन पाउनेछन् । उनीहरू यही साउन १८ र १९ गते हुने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने छन ।
सुदूरपश्चिमका ३६ हजार विद्यार्थी फेल
सुदूरपश्चिमबाट ३६ हजार ४१० विद्यार्थी अनुत्तीर्ण भएका छन् । ५३ हजार ४४६ जना परीक्षार्थी सहभागी हुँदा ३६ हजार ४१० जना अनुत्तीर्ण भएका हुन् । सो परीक्षामा १७ हजार ३७ परीक्षार्थी मात्र उत्तीर्ण भएका हुन् । यस प्रदेशबाट परीक्षामा सहभागि ५३ हजार ४ सय ४६ जना विद्यार्थीमध्ये ६८ प्रतिशत विद्यार्थीले ननग्रेड ल्याएका छन् । परीक्षामा नियमिततर्फ सुदूरपश्चिम प्रदेशबाट १५ प्रतिशत अर्थात् ३६ हजार ४१० जनाले ननग्रेड ल्याएका हुन् ।
यस्तै सुदूरपश्चिमबाट ६ जना विद्यार्थीले मात्रै ४ जिपिए हासिल गरेका छन् । ४ जिपिए हासिल गर्ने ४ जना कैलालीका र २ जना कञ्चनपुरका रहेका छन् । अत्तरियाको दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालय, सत्यवती एकेडेमी र तेघरीको सैनिक आवासीय महाविद्यालयका एक\एक जना विद्यार्थीले रहेका छन भने टीकापुरको वीरेन्द्र विद्या मन्दिरका हेमन्त साउँदले पनि ४ जिपिए हासिल गरेका छन् । कञ्चनपुरको इन्टरनेशनल स्कुल र कञ्चनजङ्घा इङ्लीस बोर्डिङका एक/एक जनाले पनि ४ जिपिए हासिल गरेका छन् । सुदूरपश्चिमका अन्य ७ जिल्लाबाट भने कुनै पनि परीक्षार्थीले ४ जिपिए ल्याउन सकेका छैनन् ।
देशभर परीक्षामा सहभागी विद्यार्थीमध्ये साढे २ लाख फेल
देशैभर एसईई परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । १८६ जनाले ४ जीपीए ल्याएका छन् । बिहीबार सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् ।
देशभर परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । गत चैत १५ गतेदेखि शुरु भएको एसइईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए । जसमा कक्षा ११ पढ्न पाउने गरी २ लाख ४२ हजार ९२ जनामात्रै उत्तीर्ण भएका हुन् ।
