गोदावरी-१२ कोल्मुडामा आधारभुत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-१२ मा कोल्मुडा आधारभुत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याईएको छ । नगरपालिकाले वडाको विकट क्षेत्र कोल्मुडामा उक्त आधारभुत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको हो ।

उक्त आधारभुत स्वास्थ्य सेवा केन्द्रको एक कार्यक्रमका बिच बुधबार नगरप्रमुख भट्टले उद्घाटन गरेका छन् । स्थानियबासीहरुलाई स्वास्थ्य सेवामा सहजता पु¥याउने लक्ष्यका साथ स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याईएको नगरप्रमुख विरेन्द्र भट्टले जानकारी दिए । उनले भौगोलिक विकटता भएको स्थानका नागरिकहरुलाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्नुपर्छ भन्ने सोचेर नगरले उक्त कार्य गरेको बताए । नगरपालिकाले स्वास्थ्यको क्षेत्रलाई पहिलो प्राथमिकता राखेर काम गरिरहेको समेत उनले बताएका छन् । विकट क्षेत्रहरुमा सहज प्रसुती सेवाका लागि बर्थिङ सेन्टरको समेत योजना नगरले बनाएको नगरप्रमुख भट्टले बताए ।

 

गोदावरी-१२ स्वास्थ्यको हिसाबले एकदमै पछाडी परेको वडा भएको बताउदै वडाध्यक्ष भीम बहादुर खड्काले अझै पनि वडाका केही स्थानमा नागरिकहरुले सिटामोलका लागि ८/९ किलोमिटर टाढा जानुपर्ने बाध्यता रहेको बताए । उनले उक्त क्षेत्रमा आधारभुत स्वास्थ्य सेवा अनिवार्य आवश्यक भएकाले नगरसँगको सहयोगमा उक्त कामको सुरुवात गरिएको बताए । नगरपालिकाले उक्त स्थानमै बर्थिङ सेन्टरका लागि २० लाख रुपैया विनियोजीत गरिसकेको समेत वडाध्यक्ष खड्काले बताएका छन् । उनले एम्बुलेन्सको अभावका कारण यहाँका नागरिकहरुले सास्ती भोग्नुर्ने अवस्था रहेकाले वडालाई एम्बुलेन्सको पनि आवश्यकता रहेको बताए ।

उक्त आधारभुत स्वास्थ्य सेवा केन्द्रमा १ जना छैटौ तहका डाक्टर सहित ३ जना कर्मचारीहरु रहेका छन । उक्त स्वास्थ्य केन्द्रमा आधारभुत स्वास्थ्य सेवाका सबै कुराहरु उपलब्ध हुने डाक्टर हेमराज भट्टले जानकारी दिए । उनले सो अन्तरगत १५ वर्ष मुनीका बालबालिकालाई खोप, टिटि खोप, गर्भवती महिलाको जाँच, आईरन चक्की, परिवार नियोजनका अस्थायी साधनहरु, बालबालिकालाई हुने विरामीहरु, पोषणको वृद्धि अनुगमन, ओपिडि सेवा लगायतका सेवाहरु दिईने डाक्टर भट्टले बताए । उनले उक्त आधारभुत स्वास्थ्य सेवा केन्द्रमा ४२ किसिमका औषधीहरु निःशूल्क उपलब्ध गराईने समेत बताए ।

Loading...