गोदावरीमा नगरपालिकाले लगाएको कर खारेज गर्न तरकारी तथा कुखुरा व्यवसायीहरूको माग

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले लगाएको कृषि तथा पशुजन्य बस्तुको निकासी कर खारेजीको माग गरिएको छ । कुखुरा व्यवसायी तथा तरकारी व्यवसायीहरूले आइतबार गोदावरी नगरपालिकाका नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लाई ज्ञापन पत्र बुझाउँदै कर खारेजीको माग गरेका हुन ।

उनीहरूले कानुन विपरीत डर धम्की देखाएर कर लिएको, दोहोरो तेहरो कर लिएको, आयातित वस्तुमा पनि कर लिएको, पालिका भित्रै आन्तरिक पैठारी गर्दा पनि कर लिएर किसानलाई निरुत्साहित गर्ने काम गरेको भन्दै उक्त कर खारेजीको माग गरेका छन् । आइतबार कैलाली जिल्ला कुखुरा व्यवसायी संघ, कञ्चनपुर जिल्ला कुखुरा दाना तथा चल्ला संघले प्रमुख प्रशासकीय अधिकृत र कृषि बजार व्यवस्थापन समिति अत्तरियाले नगर प्रमुख र कैलालीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।

कुखुरा व्यवसायीहरुले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई ध्यानाकर्षण पत्र बुझाउँदै नगरपालिकाले लगाएको करको दर भाउ परिमार्जन तथा खारेजीको माग गर्दै कर उठाउँदै आएको सोनी कन्स्ट्रक्सन सँगको सम्झौता पनि खारेज गर्न माग गरेका छन् ।

कैलाली जिल्ला कुखुरा व्यवसायी संघका अध्यक्ष हरि बहादुर ओलीले नेपाल भरिमा कहीँ पनि लागू नभएको कर गोदावरी नगरपालिकाले लगाएको बताए । उनले किसानले फर्म दर्ता गरेबापत कर तिरिरहेका बताउदै कुखुरा व्यवसायीहरु त्यतीकै मारमा परिहेका बेलामा नगरपालिकाले लगाएको करले गर्दा व्यवसाय धराशायी भएको बताए । उनले करमा पनि भ्याट लिएकाले त्यो रोक्न आफूहरूले विरोध गरेको बताए । नगरप्रमुखले कर खारेज गर्ने आश्वासन दिएको बताउँदै कर खारेर नभए फेरी आन्दोलनका कार्यक्रम गर्ने उनले बताए ।

यस्तै कृषि बजार व्यवस्थापन समिति अत्तरियाले पनि नगरप्रमुख र प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापन पत्रमा हाल कर उठाउने ठेकेदारले भारतबाट आयात गरिएका तरकारी तथा फलफूलहरू र अन्य जिल्लाबाट आयात गरिएका तरकारी तथा फलफूलहरू तथा स्थानीय ठाउँहरूमा पसल गरी आएका पसलहरूबाट बिक्री गरिएका आलु, तरकारी तथा फलफुल माथि पनि कर लगाएको उल्लेख छ । कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल भट्टको हस्ताक्षर रहेको ज्ञापन पत्रमा ऐन विपरीत एक पटक कर तिरिसकेपछि पुनः सोही बस्तुहरूमा कर नलाग्नुपर्ने नियमको उल्लङ्घन गरिएकोले उक्त ठेकेदार सँग भएको सम्झौता रद्द गरी व्यवसायीहरूलाई व्यापार गर्ने वातावरण तयार पारिदिन आग्रह गरिएको छ ।

हाल गोदावरी नगरपालिकाले स्थानीय तह सञ्चालन ऐन २०७४ अनुसार चालु आर्थिक वर्षको लागि कृषि तथा पशुजन्य बस्तुको निकासी सम्बन्धी कर सङ्कलनका लागि सोनी कन्स्ट्रक्सन सँगै सम्झौता गरेको छ । नगरपालिकाका लेखा अधिकृत खगेन्द्र प्रसाद चौधरीले कर सङ्कलनका लागि सोनी कन्स्ट्रक्सन सँग भ्याट बाहेक १० लाखमा ठेक्का सम्झौता भएको बताए । जसअनुसार माछा प्रतिकिलो १०, कुखुरा प्रति गोटा १०, तरकारी तथा फलफूलजन्य पदार्थमा प्रति क्युन्टेल १५, खसी, भेडा, बाख्रा, सुँगुर प्रति गोटा ३५ र राँगा, भैँसी, प्रति गोटा ३ सय तोकिएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले राजश्व परामर्श समितिबाट आएर कार्यपालिका र नगर सभाबाट पारित भएअनुसार कर उठाउन सुरु गरिएको बताए । उनले कर उठाउँदा ठेकेदार पक्षबाट केही त्रुटि भए पनि समग्र प्रक्रियामा समस्या नभएको बताए । उनले निर्यातमा मात्रै कर लिन पाउने भए पनि ठेकेदार पक्षबाट भएको त्रुटिका कारण आयातमा पनि कर लिइनु त्रुटि भएको बताए । उनले करमा भ्याट लिएको विषयमा पनि के गर्ने भन्ने विषय छलफलमै रहेको बताए । उनले अहिले कसैले भन्दैमा कर रोक्न नसकिने भए पनि तत्काल केही दिनका लागि कर उठाउने काम रोक्न ठेकेदारलाई आग्रह गरिएको बताएका छन् ।

Deep Jyoti Pustak psl
Loading...