अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १० को खमौरामा खानेपानी आयोजनाको शिलान्यास भएको छ ।
एक घर, एक धारा भन्ने उद्देश्यका साथ शुक्रवार गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले खानेपानी ट्याङ्कीको शिलान्यास गरेका हुन् । शिलान्यास पश्चात् नगर प्रमुख भट्टले गोदावरी नगरपालिकाबाट आफ्नै स्वामित्वमा निर्माण हुन गइरहेको खानेपानी ट्याङ्की प्रदेश र स्थानीय सरकारको साझेदारी बन्न लागेको पहिलो योजना रहेको बताए ।
उनले वडा नम्बर १० वासीको घरघरमा २ वर्ष भित्रमा शुद्ध खानेपानीको पहुँच पुगाउने बताएका छन् । खानेपानी आयोजनाबाट करिब एक हजार १२९ घरधुरीको शुद्ध पानीमा पहुँच विस्तार हुने नगरपालिकाले जनाएको छ ।
नगरपलिकाले बृहत खानेपानी आयोजना अन्तर्गत ५ करोड २० लाख ३२ हजार ३ सय १ रुपैयाँको लागतमा खानेपानी आयोजना निर्माण गर्न धनगढीको एमएसएलबी एन्ड जय श्री बालाजी जेभीसँग निर्माण सम्झौता भएको हो ।