डोटीमा जिप दुर्घटना हुँदा ६ जना घाइते, एक जनाको अवस्था गम्भिर

अत्तरिया : डोटीमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

शुक्रवार दिउँसो जिल्लाको सायल गाउँपालिकाबाट सिलगढी आउँदै गरेको रा १ ज ९१५ नम्बरको बोलेरो जिप सिलगढी नजिक पानिखाल स्थित दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सडक घुम्ती (मोड) मा जिप पल्टिँदा सवार १२ जनामध्ये ६ जना घाइते भएका हुन्।

घाइते हुनेमा सायल गाउँपालिका–३ का ५० वर्षीय भारमल खाती, ४५ वर्षीय माने खाती, ३० वर्षीय अमृत खाती, ३२ वर्षीय गम्भीरे खाती, पुर्विचौकी गाउँपालिका–२ का २४ वर्षीय दीपक ठकुल्ला र बाबा आनन्द गिरी रहेका छन्।

घाइतेहरुको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ। गम्भीरे खातीको अवस्था भने गम्भिर रहेकाले उपचारका लागि बाहिर पठाउने तयारी भइरहेको उपचारमा संलग्न चिकित्सक डाक्टर समिक सिंहले बताए।

चालक प्रेम बिष्ट भने फरार रहेको प्रहरीले जनाएको छ।

Dhangadhi 2081
Loading...