गोदावरी-७ मा गौशाला निर्माण,नगर प्रमुख भट्टद्धारा उद्घाटन

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ७ मा नवनिर्मित गौशालाको उद्घाटन गरिएको छ । छाडा पशुचौपायाको व्यवस्थापनका लागि गोलादेउ सामुदायिक वनमा निर्माण गरीएको उक्त गौशालाको आज एक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले उद्घाटन गरेका हुन् ।

५० ओटा गाईबस्तु अटाउने उक्त गौशाला नगरपालिकाले टेन्डर मार्फत प्रदेश सरकारको १८ लाख ४० हजार आर्थिक सहयोगमा निर्माण गरेको हो । गौशाला निर्माणका लागि नगरपालिकाले ३० लाखको टेन्डर आह्वान गरेको थियो ।

गोदावरी नगरपालिका भित्र रहेका छाडा पशुचौपायाहरुको व्यवस्थापनका लागि प्रदेश सरकारको आर्थिक सहयोगमा गौशाला निर्माण गरेको नगर प्रमुख भट्टले बताए । उनले गौशाला निर्माणको पहिलो संरचना रहेको र क्रमिकरुपमा अन्य संरचना तथा गाईवस्तुहरुलाई व्यवस्थापन गर्दै जाने दिर्घकालिन योजना रहेको बताएका छन ।

किसानलाई अर्गानिक मलको अभाव भईरहेको बेला सो पूर्ति गर्न समेत गोशालाले सहयोग गर्ने नगर प्रमुख भट्टको भनाई छ । हाल गौशालाको संरक्षकका रुपमा योगी यज्ञराज कडेल रहेका छन् । गौशालालाई पुर्ण रुपमा व्यवस्थीत गर्न करिब १ वर्ष लाग्न सक्ने कडेलले बताएका छन् । गौशालालाई आत्मनिर्भर बनाउने आफुहरुको योजना रहेको उनले बताए । गाईगोरुको संरक्षणको साथै मल मुत्र प्रयोग गरी अगरबत्ती, किटनाशक औषधि लगायतमा उपयोग गर्नसके गौशालाको आयस्रोत बढ्ने र रोजगारी सिर्जना हुने उनको भनाई छ ।

गौशाला निर्माण भएपछि खेतीबारीमा लगाएका बालीनाली जोगिने विश्वास स्थानियले गरेका छन् । छाडा पशु चौपायाका कारण सडक दुर्घटना, कृषकको बालीनालीको क्षति र मरेका पशुका कारण दुर्गन्ध फैलिने जस्ता समस्या स्थानीयले वर्षौँ देखि भोग्दै आएका छन ।

Loading...