टिकापुर : कैलालीमा राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५९औँ जन्मजयन्ती मनाईएको छ । जिल्लाको टिकापुर नगरपालिका(१ टिकापुर स्थित टिकापुर सामुदायिक पुस्तकालयले आज (सोमबार) बिभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरि मनाइएको हो ।
उक्त कार्यक्रममा टिकापुर नगरक्षेत्र भित्रका विभिन्न विद्यालय तथा क्याम्पसबाट आएका २९ जना विद्यार्थीहरुले आ–आफ्ना गीत, कविता तथा गजलहरु वाचन गरेका थिए ।
पुस्तकालयका अध्यक्ष तारा प्रसाद जोशीको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि नेपाल सामुदायिक पुस्तकालय संघ सुदूरपश्चिमका अध्यक्ष तथा अत्तरिया स्थित प्रतिभा सामुदायिक पुस्तकालयका अध्यक्ष पुष्पराज जोशी रहेका थिए । कार्यक्रममा टिकापुर नगरपालिकाका शिक्षा शाखा प्रमुख नरेश अवस्थी, टिकापुर बहुमुखी क्याम्पसका प्राध्यापक डा.धनकृष्ण उपाध्याय, विरेन्द्र विद्या मन्दिर क्याम्पसका प्राध्यापक डा.चक्र प्रसाद अधिकारी, टिकापुर स्थित विरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक डा.योगेन्द्र बजगाइ लगायत टिकापुर नगरक्षेत्रका समाजसेवी, पत्रकार, कर्मचारी, तथा पुस्तकालय प्रेमीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
यस्तै कार्यक्रममा स्थानीय समाजसेवी पुष्पहरि न्यौपानेले विविध विधाका ५५ थान उपयोगी पुस्तकहरु टिकापुर सामुदायिक पुस्तकालयलाई निःशुल्क प्रदान गरेका छन् ।
विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन हुनुभएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पु¥याएका थिए । नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखानासमेत भित्र्याएका थिए । यही छापाखानामार्फत नेपालमा पत्रकारिताको सुरुआत भएको हो । दिवसका अवसरमा आज देशका बिभिन्न ठाउँमा विभिन्न संस्थाले कार्यक्रम आयोजना गरेका थिए।
