गेटामा ३ सय शय्याको अस्पताल सञ्चालन गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्रसहित प्रशासन अगाडि प्रदर्शन

अत्तरिया : कैलालीको गेटामा ३ सय शैयाको अस्पताल सञ्चालन गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलाली मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । सोमबार सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालय स्थापनार्थ संघर्ष समितिले ३ सय शय्याको अस्पताल र विधेयक पारित गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।

समितिका संयोजक लोकराज पाण्डे आगोको नेतृत्वमा सांकेतिक रूपमा डाक्टरको ड्रेस नै लगाएर बिद्यार्थी सहितका ब्यक्तिहरु जिल्ला प्रशासन कार्यालय कैलाली पुगेका हुन । ज्ञापन पत्र बुझाउनु अघि केहीबेर जिल्ला प्रसासन कार्यालयको मुल गेटमा डाक्टरको ड्रेस लगाएर बिद्यार्थी सहितका ब्यक्तिहरुले विभिन्न प्लेकार्ड सहित प्रदर्शन गरेका थिए । प्रदर्शन पछि संघर्र्ष समितिले प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापन पत्रमा ६ सय शय्याको भन्दा बढीको अस्पताल सञ्चालनका लागि बनाइएका संरचनामा ५० शय्या मात्रै सञ्चालन गरेर उक्त परियोजनालाई तुहाउने प्रयास भएको भन्दै मेडिकल अध्ययन-अध्यापनका लागि आवश्यक पर्ने कम्तीमा ३ सय शय्याको अस्पताल सञ्चालन गर्न माग गरिएको छ । ज्ञापन पत्रमा यही अधिवेशनमा स्वास्थ्य, विज्ञान विश्वविद्यालय सम्बन्धी विधेयक पास गर्न पनि माग गरिएको छ ।

ज्ञापन पत्रमा सङ्घीय राज्य सत्ताबाट पटक-पटक सुदूरपश्चिमेलीहरु प्रति गरिएको विभेद तथा अन्यायको सिलसिलाको रूपमा अहिले गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ढिलाइ भइरहेको उल्लेख छ ।

संघर्ष समितिका संयोजक लोकराज पाण्डे आगोले पटक पटक ज्ञापनपत्र बुझाएको र आन्दोलन गरेको बताउदै सरकारले अझै चासो नदिएको गुनासो गरे । उनले गेटामा झण्डै ७७ बिघा जग्गामा सात अरबमा ५४ ओटा भवनहरु निर्माण भई सक्दा पनि सरकारले रोकिएको बिधेयक लाई पास गरेर तत्काल मेडिकल शिक्षा शुरु गर्नुपर्ने बताए । बिधेयक राष्ट्रिय सभाबाट र सांसदबाट पास भएर समितीमा गएर रोकिएको बताउदै उनले छिट्टै पास गरेर अगाढी बढाउनुपर्ने बताए । उनले सरकारले आफुहरुको सुनुवाई नगरे पुनः सुदुरपश्चिम सडकमा आउने चेतावनी दिएका छन् ।

यस्तै संघर्ष समितीका सचिव लोकेन्द्र धामीले केन्द्र सरकारले ठगेको बताउदै उनले जबसम्म सुदुरपश्चिममा मेडिकल बिश्वबिद्यालय स्थापना हुदैन तबसम्म आन्दोलन जारी रहने बताए । संघर्ष समितीका सदस्य दुर्गा पोखरेलले केन्द्रमा रहेका सुदुरपश्चिमका नेताहरुले नै बेवास्ता गरेको बताएका छन् । उनले यसरी नेताहरुले नै बेवास्ता गर्दा आफुहरुलाई नेताहरु प्रति कतै भ्रष्टाचार छकि भन्ने शंका लागेर आएको बताए ।

Loading...