अत्तरिया : आर्थिक रुपमा विपन्न कैलालीको गोदावरी नगरपालिका–१० का डम्मर बि.क को घर निर्माण गरिने भएको छ । नेपाली कांग्रेस गोदावरी नगरकार्यसमितिले उनको २ कोठे घर निर्माण गरिदिने भएको हो ।
यसअघि घर निर्माणका लागि इट्टा सहयोग गरेको कांग्रेस गोदावरीले सोमबार वीपी जयन्तीको अवसरमा उनको घर निर्माणको काम थालनी गरेको छ ।
सुदूरपश्चिम प्रदेशकी सांसद तुलसी देवकोटा, गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट, कांग्रेस क्षेत्र नं. ४ का क्षेत्रिय सभापति बसन्त रोकाया, गोदावरी नगरसभापति विर बहादुर चोखाल, क्षेत्र नं. ४ का क्षेत्रिय सचिव जयराज फुलारा, नेपाल तरुण दलका केन्द्रिय सदस्य तेज खड्का, नेपाल तरुण दल नगर सभापति रमेशराज भट्टराई, नगर सचिव योगेश भट्ट, गोदावरी-१० का वडाध्यक्ष रविन्द्र शाही (गुड्डु), उद्धार समिति संयोजक प्रेम कुमाल, कांग्रेसको गोदावरी-३ का उपसभापति बेद प्रकाश पाण्डेय, टोल सभापति दुर्गा दत्त भट्ट लगायतको सहभागीतामा डम्बरको घर शिलान्यास गरिएको हो ।
विपन्नलाई सहयोग गर्ने अभियान अन्तरगत आर्थिक अवस्था एकदमै नाजुक भएका व्यक्तिहरुलाई सहयोग गरिरहेको नगरकार्यसमितिले जनाएको छ । घर बनाउनका लागि जमिननै नभएका डम्मरलाई स्थानियहरुले घरबासका लागि थोरै जमिन दिएका छन । उक्त जमिनमा चारैतिर खुल्ला भएको टिनको छानो मात्रै छ ।
जसमा डम्मरको परिवार बस्दै आएको छ । उक्त टिनको छानो पनि गत वर्ष वडा कार्यालयले डम्मरका लागि बनाईदिएको थियो । त्यसअघि अर्काको घरमा बास बस्दै आएका उनिहरुको परिवारमा कमाउने कोही छैन । ६० कटेका डम्मरसँगै उनको श्रीमती र बुढी आमा सो टिनको छानामा बस्दै आएका छन् ।