अत्तरिया : नेपाल आयल निगम सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढी डिपो दुई दिन बन्द हुने भएको छ।
दसैँको सार्वजनिक बिदाका दिनहरूमा आयल निगमको बिक्री केन्द्र (डिपो) खुला रहने भए पनि यही बिचको अवधिमा भने दुई दिन बन्द गरिने भएको हो।
आयल निगमका अनुसार कात्तिक ४ गते अर्थात् फूलपातीका दिनदेखि कात्तिक ९ गतेसम्म (कोजाग्रत पूर्णिमा) का दिनसम्मै बिक्री केन्द्र खुला रहने छ।

आयल निगम सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीका प्रमुख अनिल सुयलका अनुसार भोलि र पर्सी पेट्रोलियम पदार्थ लोड भएका ट्याङकर आयात गर्न भन्सार कार्यालयलाई पत्राचार गरिएको बताए।
‘आजभोलि पेट्रोलिय पदार्थको माग बढेर ट्याङकरहरु धेरै खाली भएका छन्। ती ट्याङकरहरु भारत पठाइएको छ। ४ र ५ गते भन्सार खोलीदिन पत्राचार गरेका छौँ, त्यस्तो भयो भने सहज हुन्छ।’ ७ र ९ गते आयल निगम धनगढी डिपो बन्द नै हुने गरी तालिका बनाएको उनले बताए।
पछिल्लो समय पेट्रोलियम पदार्थको माग बढेकाले चाडपर्वको समयमा आपुर्ति व्यवस्थामा कुनै समस्या नहुने गरी आवश्यक प्रबन्ध गरिएको आयल निगमले जनाएको छ।
यद्यपी व्यवस्थापन अनुकूल आयल निगम प्रादेशिक कार्यालय धनगढी खुला राख्ने तालिका तयार गरिएको निगमले जनाएको छ। सुदूरपश्चिम प्रादेशिक कार्यालय, धनगढी कात्तिक ५ र ८ गते खुल्ने छ।
दसैँ जस्ता चाडपर्वमा सर्वसाधारण उपभोक्ताहरूलाई सहज होस् भन्ने उद्देश्यले पेट्रोलियम पदार्थको आपूर्ति प्रणालीलाई नियमित राख्न यस्तो व्यवस्था गरिएको निगमले जनाएको छ।
