धनगढी : सुदूरपश्चिम प्रदेशको प्रदेश लोकसेवा आयोगले वार्षिक प्रतिवेदन प्रदेश प्रमुख नजिर मियाँसमक्ष पेश गरेको छ ।
आयोग अध्यक्ष यज्ञराज बोहरा, सदस्यहरू लक्ष्मण बहादुर खड्का र भागरथी रानासहितको टोलीले प्रदेश प्रमुख मियाँलाई आर्थिक वर्ष २०८-८१ चौथो वार्षिक प्रतिवेदन पेश गरेको हो ।
प्रदेश निजामती सेवा, प्रदेश प्रहरी सेवा, प्रदेश अनुसन्धान ब्युरो, प्रदेश अन्य सरकारी सेवा प्रदेश सङ्गठित संस्थाको सेवा, स्थानीय सरकारी सेवा र स्थानीय तहको साङ्गठनिक संस्थाको सेवाको पलमा उपयुक्त उम्मेदवार छनौट गरि सार्वजनिक प्रशासनलाई सक्षम, सुदृढ,र सेवामुखी बनाउने आयोगको उद्देश्य रहेको अध्यक्ष बोहराले प्रदेश प्रमुख मियाँलाई जानकारी गराएका थिए ।
आयोगले वर्षभरि गरेको काम कारबाही समेटेर तयार पारिएको प्रतिवेदनमा जम्मा ९ परिच्छेद र १९२ पृष्ठ रहेको छ ।
आयोगले आर्थिक वर्ष २०८०-८१ मा पदपूर्तिका लागि विज्ञापन हुने प्रदेश निजामती सेवा तथा प्रदेश स्थानीय सेवाहरूको पदपूर्ति सम्बन्धी वार्षिक कार्यपालिका पारित भई सार्वजनिक गरिसकेको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ । २० पदहरूको विज्ञापन प्रकाशन गरिएको, लिखित परीक्षामा सहभागिता भएको विषय, अन्तर्वार्तामा छनोट भएकाहरूको संख्या, ती मध्ये बढुवामा सिफारिस भएका र नियुक्त भएका कर्मचारीहरूको विवरण पनि प्रतिवेदनमा रहेको छ ।
प्रदेशका २१ स्थानीय तहमा अनुगमन निरीक्षण गरेको, सुदूरपश्चिम प्रदेश सरकारको अनुरोधमा सुदूरपश्चिम प्रदेश निजामती सेवा ऐन २०७९ ( पहिलो संशोधन) विधेयक र स्थानीय तहका सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० उपर राय परामर्श लिएको विषय पनि प्रतिवेदनमा समेटिएको छ ।
कार्यसम्पादनका क्रममा देखिएका समस्या र चुनौतीहरू तथा आगामी कार्यदिशा पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । वार्षिक प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख मियाँले संवैधानिक व्यवस्था अनुसार उक्त प्रतिवेदन मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा मार्फत प्रदेश सभामा छलफल गराउने र यथाशीघ्र छिटो कार्यान्वयनमा जोड दिने बताएका थिए ।
प्रदेश प्रमुख मियाँले लोकसेवा आयोगलाई अझै प्रभावकारी ढंगले काम गर्न पनि सुझाव दिएका थिए । उक्त कार्यक्रममा प्रदेश लोकसेवा आयोगका सचिव वेदप्रसाद भण्डारी उपसचिव हिरालाल चौधरी र अन्य कर्मचारी तथा प्रदेश प्रमुख कार्यालयका सचिव नवराज ढुङ्गाना , प्रमुख स्वकीय सचिव साबिर अली लगायतको उपस्थिति रहेको थियो।
