सडक कालोपत्रको माग गर्दै गोदावरी नगरपालिका घेराउ

गोदावरी-९ को कार्यालयमा पाँच दिनदेखि ताला

अत्तरिया : सडक कालोपत्रको माग गर्दै कैलालीको गोदावरी नगरपालिकाको कार्यालय घेराउ गरिएको छ। गोदावरी नगरपालिका-९ को कार्यालयमा चार दिनदेखि ताला लगाइएका स्थानीयले बुधवार नगरपालिकाको कार्यालय घेराउ गरेका हुन ।

उनीहरुले धनगढीको बेला-मुर्कटी सडक कालोपत्रका माग गर्दै सङ्घर्ष गर्दै आएका छन् । गोदावरी नगरपालिका र सुदूरपश्चिम प्रदेश सरकारले सडक निर्माणका लागि बजेट विनियोजन नगरेको भन्दै स्थानीय आन्दोलित भएका हुन् । धनगढी-सेहरी सडक कालोपत्रका लागि बजेट विनियोजन गर्नुपर्ने माग उनीहरूको छ । स्थानीयले सङ्घर्ष समिति गठन गरेर वडा कार्यालयमा ताला लगाएका थिए ।

सङ्घर्ष समितिले गोदावरी नगरपालिका-९ का वडाध्यक्ष रामलाल रानालाई असोज ७ गते ज्ञापनपत्र बुझाएको थियो । वडाध्यक्ष रानाको गोदावरी नगरपालिका र प्रदेश सरकारसम्म पहुँच नभएकाले वडामा योजना नआएका उनीहरूको आरोप छ । धनगढी-सेहरी-मुर्कटी सडकमा ग्राभेलसमेत नगरेको भन्दै उनीहरूले गोदावरी नगरपालिकाको कार्यालय घेरेका छन ।

नगर प्रमुख वीरेन्द्र भट्टसँग छलफलसमेत गरेका थिए । तर, नगर प्रमुख भट्टसँगको छलफल निष्कर्ष विहीन भएपछि चार दिनदेखि वडा कार्यालयको काम प्रभावित भएको छ ।

गोदावरी-९ का स्थानीयको कृषि उत्पादनको बिक्री, रोजगार तथा काम गर्न, औषधी-उपचारका लागि धनगढी जानुपर्ने हुन्छ । तर, सडकमा खाल्डै खाल्डा रहेकाले समस्या हुने गरेको स्थानीय गगन साउँदले बताए । उनले भने, ‘गोदावरी नगरपालिकाको बिकट वडा हो । अत्तरिया जान १८ किलोमिटर हो । धनगढी जान ६ किलोमिटर छ । स्थानीय तह बन्दा उपमहानगरपालिकामा जोड्न भनेका थियौ । आन्दोलन गरेका थियौ । तर, वडामा सुविधा आउने भनेका थिए । हाम्रो कामहरू सुनुवाइ भएका छैनन ।’

गोदावरी नगरपालिका-९ का गर्भवती महिला र धनगढी कामको लागि जाने महिलाहरूलाई बढी सास्ती रहेको छ । उनीहरूले वडा कार्यालयसम्म आउन समेत सडकको समस्या रहेको बताएका छन् । धनगढीको बेला-मुर्कटी सडक कालोपत्रका लागि बजेटको माग गर्दै उनीहरूले आन्दोलन गर्दै आएका हुन ।

Loading...