अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले बजार अनुगमन सुरु गरेको छ । नेपालीहरुको महान पर्व दशैँ र तिहारलाई लक्षित गरि नगरपालिकाले आज (शुक्रबार) बाट बजार अनुगमन सुरु गरेको हो ।
नगरपालिकाकी उपप्रमुख शारदा रोकायाले दशैँतिहारलाई लक्षित गरेर बजार अनुगमन सुरु गरिएको बताईन । उनले चाडवाडको बेला खाद्यान्नहरु गुणस्तरयुक्त भए नभएको जाँच गर्नलाई अनुगमन गरिएको बताईन् । शुक्रबार करिब ४५ वटा पसलहरुमा अनुगमन गरिएको छ ।
अत्तरिया बजारको पहाडरोडतिर रहेका किराना तथा होटलहरुमा अनुगमन गरिएको बताईएको छ । अनुगमनका क्रममा मसला, चिसो पेयपदार्थ, अखाद्य रंग प्रयोग भएका मासुका परिकार, धेरै दिन अघि नै तयारी अवस्थामा राखिएको मःम लगायतका करिब १० हजार बराबरका वस्तुहरु बरामद गरि नष्ट गरिएको छ ।
शुक्रबारदेखी सुरु भएको अनुगमन अबदेखी बजारमा निरन्तर रुपमा चल्ने नगर उपप्रमुख रोकायाले बताएकी छन् । उनले अनुगमनका क्रममा भेटिएका अखाद्य वस्तुहरु बरामद गरी नष्ट गरिएको बताईन । पहिलो पटक अनुगमनका क्रममा व्यवसायीहरुलाई सुझाव दिईएको र आगामी दिनमा त्यस्तो कुरा दोहोरिएमा कारबाही गरिने बताएकी छन् ।