अत्तरियाको किड्स जोन एकेडेमीमा सांस्कृतिक उत्सव सुरु

५ दिनसम्म सञ्चालन हुने

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-१ अत्तरियामा रहेको किड्स जोन एकेडेमीमा सांस्कृतिक उत्सव सुरु भएको छ । दसैँ तिहारको बिदाअघि किड्स जोनले सांस्कृतिक उत्सव सुरु गरेको हो । आज (शुक्रबार) बाट शुरु भएको उत्सव उत्सव ५ दिनसम्म चल्ने भएको छ ।

उत्सवको पहिलो दिन आज (शुक्रबार) विद्यालयले सांस्कृतिक रंगमञ्च उद्घाटन समारोह सम्पन्न गरेको छ । उत्त कार्यक्रममा विभिन्न समुदायका सांस्कृतिक नृत्य र लोकगीत प्रदर्शन गरिएको थियो । त्यस्तै उत्सवको दोस्रोदिन ‘स्वादको यात्रा’ अन्तरगत नेपाली खाना प्रदर्शनी रहनेछ ।

जस अन्तरगत नेपाली परम्परागत खानाको स्टल र प्रत्यक्ष खाना प्रदर्शन गरिने विद्यालयका प्रिन्सिपल मदन जोशीले बताए । तेस्रो दिनको लागि तय गरिएको भेशभूषा पर्व अन्तरगत परम्परा र पहिचानसहित विद्यार्थी द्वारा सांस्कृतिक पोशाक परेड र प्रतियोगिता गरिनेछ भने उत्सवको चौथो दिन विविधता र एकता कार्यक्रम अन्तरगत नेपालका विभिन्न पर्वहरूको उत्सव, प्रदर्शन र सांस्कृतिक खेलहरूको आयोजना गरिनेछ ।

त्यस्तै उत्सवको अन्तिम दिन अर्थात असोज २२ गते दशैं मेला र आकाशे चंगा महोत्सव अन्तरगत आयोजना गरिने समापन समारोहमा चंगा उडाउने प्रतियोगिता र दशैं मेलाको आयोजन गरिने प्रिन्सिपल जोशीले बताए । विद्यार्थीलाई शैक्षिक ज्ञान संगसंगै अतिरित्त कार्यहरु पनि आवश्यक पर्ने हुँदा बिदाको अघिको समयमा विभिन्न कार्यक्रमको आयोजना गरिएको उनले बताए ।

२०७२ सालमा स्थापना भएको किड्स जोन एकेडेमीमा हाल कक्षा ८ सम्म सञ्चालनमा रहेको छ भने करिब ६ सय विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालयमा ३६ जना शिक्षक कर्मचारी कार्यरत रहेका छन् ।

प्रिन्सिपल जोशीको सभाअध्यक्षतामा सुरु भएको सांस्कृतिक उत्सवमा प्याब्सनका केन्द्रिय उपाध्यक्ष जगविर थापा प्रमुख अतिथि रहेका थिए । विद्यालयका शिक्षक शंकर बोहराको स्वागत मन्तब्यसंगै सुरु भएको कार्यक्रमको सञ्चालन विद्यालयका छात्र छात्राहरुले नेपाली, डोटेली, रानाथारु, बैतडी, अछामी लगायतका भाषामा गरेका थिए ।

Deep Jyoti Pustak psl
Loading...