अत्तरियामा स्थानीय उत्पादनको प्रदर्शनीमा रोक, बिभिन्न जिल्लाबाट आएका उद्यमी फर्किए

अत्तरिया : कैलालीको अत्तरियामा मंगलबारदेखि सुरु हुने भनिएको सुदूरपश्चिम प्रदेशका उत्पादित वस्तुहरूको विक्री वितरण प्रवर्द्धन र प्रदर्शनी बजारमा रोक लगाईएको छ । सम्पूर्ण तयारी पुरा गरेर मंगलबार बिहान प्रदर्शनी बजारको संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको थियो । तर बिहान उद्घाटन गर्नु पूर्व केही स्थानिय व्यापारीहरुको समूहले बजारको प्रवेशद्वारमा तोडफोड गरेर विरोध गरेपछि प्रवर्द्धन र प्रदर्शनी बजार स्थगित भएको हो ।

स्थानीय केही व्यवसायीहरूले दसैँको समयमा राखिएको प्रवर्द्धन र प्रदर्शनी बजारका कारण आफूहरूको व्यवसायमा असर पर्ने भन्दै विरोध गरेका थिए । कार्यक्रम स्थलमा तोडफोड गरिएको भए पनि त्यहाँ खटिएका प्रहरी भने मुख दर्शक मात्रै बनेका थिए ।

विरोध पछि प्रदर्शनी बजार आयोजक र अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष सहितका पदाधिकारी ईलाका प्रहरी कार्यालय मालाखेती अत्तरिया पुगेका थिए तर त्यहाँ कुनै सहमति हुन नसकेपछि त्यहाँबाट नगरपालिका गएका थिए । नगरपालिकामा स्थानिय व्यापारी र प्रदर्शनी बजार आयोजक बिच छलफल भए पनि निष्कर्ष बिना छलफल टुंगियो ।

सुदूरपश्चिममा उत्पादित बस्तुको विक्री वितरण प्रवर्द्धन, प्रदर्शनी बजारका लागि नगरपालिकाबाट अनुमति लिएकाले नगरपालिकाले नै खारेज गर्न सक्ने कैलाली चेम्बर अफ कमर्सका अध्यक्ष प्रमोद अधिकारीले बताए । उनले केही व्यवसायीहरूले कुनै सामान विक्री नै गर्न नपाइने सर्त राखेपछि समस्या भएको बताएका छन् ।

असोज २२ गते मंगलबार देखि कार्तिक १७ गते सम्म सञ्चालन हुने उक्त प्रदर्शनी बजारका लागि गोदावरी नगरपालिकाले नै असोज १८ गते अनुमति दिएको थियो । नगरपालिकाको अनुमति अनुसार सञ्चालन गरिएको प्रदर्शनी बजारमा अवरोध आउँदा पनि नगरपालिकाका मौन बसेको कैलाली चेम्बर अफ कमर्सका अध्यक्ष अधिकारीले बताए । उनले व्यवसायीले नमानेपछि उनीहरूको मान अनुसार नै जुत्ता, चप्पल विक्री नगर्ने र स्याम्पलको रूपमा प्रवर्द्धनको लागि मात्रै राख्ने भन्दा पनि नमानेको बताए । छलफलका लागि नगरपालिकामा जाँदा नगरबाट पनि सकारात्मक जवाफ नआएको अध्यक्ष अधिकारीले बताएका छन् ।

अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण सिंह बोहराले दसैँको मुखमा व्यापार गर्न बजारमा बसेका व्यापारीले बिक्री गर्ने सामान नै प्रदर्शनी बजारमा बिक्रीका लागि राखिएपछि व्यवसायीहरूले विरोध गरेको बताए । उनले व्यवसायीहरूको समस्या बुझनुपर्ने भन्दै जुन व्यवसायी बर्षभरी हजारौँ रुपैयाँ भाडा तिरेर बसेर पनि व्यापार नभएको तर, दसैँको मुखमा आएर कसैले त्यहाँ बजार लगाउँछन् भने त्यो व्यापारी प्रति न्याय नभएको बताए । उनले चेम्बरले आफुहरुसंग समन्वयन गरेको भए कुनै विवाद नहुने बताउदै समन्वयन नगर्दा समस्या आएको बताए ।

स्थानीय उत्पादनको प्रदर्शनी बजारमा गोदावरी नगरपालिकाको सहयोगमा उत्पादन गरिएको ‘गोदावरी कम्पोस्ट मल, स्थानीय स्तरमा उत्पादन हुने भाडा, पहाडी क्षेत्रमा उत्पादन हुने दाल, खाद्यान्न, होजीयारी उद्योग लगायतका १८ वटा निःशुल्क स्टल राखिएका थिए ।

कैलाली चेम्बर अफ कमर्स, नेपाल चेम्बर आफ कमर्स सुदूरपश्चिम प्रदेश र समृद्ध सुदूरपश्चिम अभियानको आयोजनामा ‘यसपालिको दसैँ तिहारमा सुदूरपश्चिमकै लगाउने सुदूरपश्चिमकै खाने’ भन्ने नाराका साथ सुदूरपश्चिम प्रदेशका उत्पादित वस्तुहरूको विक्री वितरण प्रवर्द्धन र प्रदर्शनी बजारको आयोजना गरिएको थियो । तर, स्थानीय व्यवसायीको बिरोध पछि बजार स्थगित भएसंगै बिभिन्न जिल्लाबाट आएका उद्यमी फर्किएका छन ।

Deep Jyoti Pustak psl
Loading...