डडेल्धुरामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु

१२ जना घाइते

डडेल्धुरा : डडेल्धुरामा यात्रुबाहक रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी जाँदै गरेको ना ८ ख १०७८ नम्बरको रात्रिबस गएराति डडेल्धुराको अमरगढी नगरपालिका-७ खस्रेखानमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । दुर्घटनामा १२ जना घाइते भएका छन् ।

दुर्घटनामा दुई महिला, एक पुरुष र एक शिशुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले बताए ।

दुर्घटनामा बैतडीको पुर्चौंडी नगरपालिका-३ का ४५ वर्षीया जयमति बोहरा, सोही ठाउँकी २० वर्षीया कमला बोहरा, कमलाका छोरा र सोही ठाउँका २२ वर्षीय सहदेव बोहराको मृत्यु भएको हो ।

घाइते हुनेमा पुर्चौंडी नगरपालिका-७ का २४ वर्षीय नवराज साउँद, वडा नम्बर ६ का २४ वर्षीय राजेन्द्र साउँद, कञ्चनपुरको कृष्णपुर नगरपालिका-४ का २५ वर्षीय दिनेश साउँद, डडेल्धुराको आलिताल गाउँपालिका-१ का २१ वर्षीय मुकुन्द बोहरा, दार्चुलाको मार्मा गाउँपालिका-५ बस्ने ३४ वर्षीया विमला महता, कृष्णपुर नगरपालिका-५ की ६५ वर्षीया धनमती साउँद रहेका छन ।

यस्तै, पुर्चौंडी-८ का ४२ वर्षीय पदमबहादुर बोहरा, सोही ठाउँका बस चालक २४ वर्षीय वीरेन्द्र बोहरा, वडा नम्बर ७ का २८ वर्षीय नवराज रतौकी, २० वर्षीय सुरेन्द्र रतौकी, वडा नम्बर १० का दामोदर महरा र धनबहादुर महरा पनि घाइते भएको प्रहरी निरीक्षक बमले जानकारी दिए । उनका अनुसार गम्भीर घाइते बस चालक वीरेन्द्र बोहरालाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ ।

प्रहरी निरीक्षक बमका अनुसार बसचालक वीरेन्द्र बोहरा गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि धनगढी ल्याइएको छ । अन्य घाइतेहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । बसमा १७ जना सवार रहेकोमा एक जना सम्पर्क विहीन भएको प्रहरीले जनाएको छ ।

बस सडकबाट करिब साढे तीन सय मिटर तल खसेको जनाइएको छ । चालक निदाएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

Deep Jyoti Pustak psl
Loading...