डोटी : डोटीको शिखर नगरपालिकाले एमविविएस अध्यनरत एक बिद्यार्थीलाई आर्थिक सहयोग गरेको छ । एमविविएस पहिलो वर्षमा अध्यनरत नगरपालिकाको वडा नम्बर ७ बैरकोटका कैलाश भुललाइ नगरपालिकाले आर्थिक सहयोग गरेको हो ।
कैलाश बिपी कोईराला स्वाथ्य विज्ञान प्रतिष्ठान काठमाण्डौमा एमविविएस पहिलो वर्षमा अध्ययनरत उनले खुला तर्फ नाम निकालेर पूर्ण छुटमा एमविविएस अध्ययन गर्दै छन् । उनलाई अध्ययनमा सहयोग होस् भन्ने उद्देश्यले बिहीबार नगर प्रमुख दीर्घ बहादुर बलायरले १ लाख पचास हजार रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।
चेक हस्तान्तरण गर्दै नगरप्रमुख बलायरले नगरपालिकाले शिक्षामा विशेष प्राथमिकता दिएर काम गरिरहेको बताएका छन् । उनले कमजोर आर्थिक अवस्था भएका जेहन्दार विद्यार्थीहरुलाई हरेक वर्ष छात्रवृत्ति प्रदान गर्दै आईरहेको बताए । कैलाश एक मेहनती विद्यार्थी भएका तर दलित परिवारमा जन्मिएका उनको पारिवारिक आर्थिक अवस्था एकदमै कमजोर रहेकाले उनलाई पढाइमा थप मद्दत पुगोस् भनेर नगरपालिकाले डेढ लाख रुपैयाँ सहयोग गरेको बताए । उनले आगामी वर्षहरुमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
कक्षा ५ सम्म सीताराम मावि उच्चाकोटमा अध्ययन गरेका उनी त्यसपछि सुजङ्ग स्कूल राजपुरमा भर्ना भएर सोहि स्कूलबाट एसईई पास गरेका हुन् । एसईई पछि कक्षा ११ र १२ काठमाडौं स्थित नासा कलेजबाट पास गरेका हुन् । घरको आर्थिक अवस्था कमजोर भएका कैलाशलाई पूर्व मन्त्री भक्त बहादुर बलायरले कक्षा ४ देखि १२ सम्म निःशुल्क अध्ययन गर्न सहयोग गरेका थिए ।
कमजोर आर्थिक अवस्था भएको दलित परिवारमा जन्मिएका कैलाश आफ्नो मेहनत र अरूबाट प्राप्त सहयोगले एमविविएस पढ्न पाउँदा निकै खुसी छन् ।
