अत्तरिया : नेपालीहरुको दोस्रो ठुलो महान चाँड तिहार नजिकिएसंगै कैलालीको अत्तरिया बजारमा तिहारका लागि सामान किन्नेको भिड लागेको छ । अत्तरिया बजारका सडक पेटीमा तिहारका सामग्रीले भरिभराउ छन् ।
दैनिक उपभोग्य सामग्री लगायत झिलिमिली बत्ती, दियो, सप्तरङ्गी टीका, तामा, पित्तलका भाँडा, भाईटीकाको सामग्री, लगायतका उपभोग्य वस्तुहरू किन्नेको घुइँचो लाग्न थालेको छ । लक्ष्मी पूजाको दिन दिपावली गर्न घरको दैलो, झ्याल ढोका, कौशी, बरण्डा, पसल, कार्यालय, व्यावसायिक स्थल लगायतका ठाउँमा फूलको मालाले सजाएर दियो बाली झिलिमिली पार्ने परम्परा रहेको छ ।
तिहारमा लगाउन नयाँ लुगा कपडा किन्न र दिदी बहिनी र दाजु भाईलाई तिहारमा दिने उपहार किन्न कपडा पसलहरूमा पनि ग्राहकको भीड बढेको छ भने केही समूहमा देउसी भैलो खेल्न पनि सुरु गरिएको छ । तिहार एउटा बिषेश उज्यालो र रङ्गिन पर्व पनि हो ।
तिहारको समयमा घरहरु बत्तिको उज्यालोले झिलिमिले बनाउन थालिएको छ । यस्तै गोदावरीमा तिहार र छठमा प्लास्टिकका फुल, माला तथा अन्य सामग्रीमा प्रतिबन्ध गरिएपनि बजारमा केही पसलमा भने प्लास्टिकका सामग्री पनि बिक्री भईरहेका छन् ।
सयपत्री, मखमलीको माला अति नै राम्रो र लोकप्रिय छन । पछिल्लो समयमा कैलालीका धेरै स्थानमा व्यवसायिक फूलखेति भएको छ । व्यापारीहरुले तयारी माला बजारमा विक्रिका लागि बेच्न राखेको कमै देखिन्छ । प्लाष्टिकका नक्कली मालाहरु बेच्न राखिएका हुन्छन् ।
पहिले नै राख्दा त्यो ओइलाउने हुँदा प्राकृतिक फूलको माला बजारमा राख्न समस्या भएको कतिपय व्यवसायीले बताएका छन् । त्यसको फाइदा उठाउँदै जिल्लाका बजार र चोकहरुमा प्लाष्टिका नक्कली मालाहरु राखिन्छन् ।
