धनगढी उप महानगरद्वारा तिन महिनामा ९४ जनालाई  नि:शुल्क रगत उपलब्ध

धनगढी : धनगढी उपमहानगरपालिकाले तीन महिनामा ९४ जनालाई  नि:शुल्क रगत उपलब्ध गराएको छ । उपमहानगरपालिकाले चालु आर्थिक वर्षको साउनदेखि कात्तिक २६ गतेसम्म सर्वसाधारणलाई ३१४ पिन्ट रगत  नि:शुल्क उपलब्ध गराएको हो ।

उपमहानगरपालिकाले यो वर्षदेखि रगत आवश्यक पर्ने नगरबासीलाई  नि:शुल्क रगत दिने व्यवस्था मिलाएको हो । धनगढी स्थायी बसोबास भएका बिरामीले डाक्टरको सिफारिसमा नेपाल रेडक्रस धनगढी शाखाबाट नि:शुल्क रगत दिने व्यवस्था मिलाएको हो । रेडक्रसलाई त्रैमासिक रुपमा बिरामीले लगेको रगत बापतको रकम उपमहानगरले भुक्तानी गर्ने सम्झौता गरेको छ ।

उपमहानगरले वडा नम्बर १ मा १३ जनाले, वडा नम्बर २ मा ४ जना, वडा नम्बर ३ मा ५ जना, वडा नम्बर ४ मा ८ जना, वडा नम्बर ५ मा ५ जना र वडा नम्बर ६ मा ४ जनाले  नि:शुल्क रगत प्राप्त गरेको जनाएको छ ।

यसैगरी, वडा नम्बर ७ मा ७ जना, वडा नम्बर ८ मा ९ जना, वडा नम्बर ९ मा ४ जना, वडा नम्बर १० मा २ जना, वडा नम्बर ११ मा ४ जना, वडा नम्बर १२ मा ६ जनाले नि:शुल्क रगत प्राप्त गरेका छन् । यस्तै, वडा नम्बर १३ मा ७ जना, वडा नम्बर १४ मा ३ जना, वडा नम्बर १५ मा ४ जना, वडा नम्बर १६ मा ५ जना, वडा नम्बर १७ मा ३ जना र वडा नम्बर १९ मा १ जनाले नि:शुल्क रगत प्राप्त गरेको उपमहानगरले जनाएको छ ।

नि:शुल्क रगत प्राप्त गर्नेमा ५२ प्रतिशत पुरुष र ४२ प्रतिशत महिला रहेका छन् । यस्तै, सेवा लिनेमा ६१ प्रतिशत जनजाति, २० प्रतिशत ब्राह्मणरक्षेत्री, १२ प्रतिशत दलित र १ प्रतिशत अन्य समुदायका रहेको उपमहानगरले जनाएको छ ।

उपमहानगरले उपचारको क्रममा कुनै बिरामीलाई रगत तथा रगतजन्य पदार्थ आवश्यक परेमा सोझै रेडक्रस कैलाली शाखामा सम्पर्क गर्ने र चिकित्सकको सिफारिसका आधारमा रगत उपलब्ध हुने व्यवस्था मिलाइएको छ ।  नि:शुल्क रगत प्राप्त गर्न वडा या पालिकाको सिफारिस आवश्यक नपर्ने उपमहानगरले जनाएको छ ।

Loading...